दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनको सिन्कोना निर्देशकसित भेट

मङपु : दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनको केन्द्रिय समिति सभापति सुरज सुब्बाज्युको नेतृत्वमा एउटा प्रतिनिधि टोलीले सिन्कोना निर्देशकसित आज मङ्पुस्थित तिनकै कार्यालयमा भेट गर्यो। उक्त भेटवार्तामा सिन्कोना बागानको विकासको लागि युनियनले गर्नुपर्ने सहयोग साथै हाल सिन्कोना श्रमिकहरूको रोज वृद्धि विषयमा छलफल गरियो। यसको साथै सिन्कोना मजदुर नियुक्ति प्रक्रिया तथा पदोन्नति, नयाँ नियुक्त अधिनियम विषयमा पनि चर्चा-परिचर्चा गरियो। आगामी दिनमा प्रत्येक सुविधा असुविधामा आफ्नो युनियनलाई पनि सम्झिदिने माग गरियो। यसपछि सिन्कोना निर्देशक सामेल राईले सिन्कोनाको विविध विषयलाई लिएर हाल सचिव स्तरमा कार्य भइरहेको साथै आउँदो दिनमा निर्देशकको तर्फबाट हुने कार्यमा सकारात्मक रूपमा पहल गरिदिने वचन दिए। यस अवसरमा केन्द्रिय समिति सभापति सुरज सुब्बा, सह सचिव रवि शंकर शर्मा, केन्द्रिय समिति सदस्य रतन लामा, दिपेन राई,  रङ्गो-गैरीबाँस जोनल समिति सिटोङ कमान जोनल समिति प्रतिनिधि, मङ्पु जोनल समिति सभापति किरण थापा, सचिव सुजित तामाङ समष्टि सभापति सरन राई, सचिव बुद्ध कुमार थापा, सांगठनिक सचिव आशिष गुरुङ, युवा मोर्चा खरसाङ महकुमा सांगठनिक सचिव मुकेश मगर, युवा मोर्चा कार्यकारी अध्यक्ष चन्दन खवास, सचिव सागर गुरुङ, नारी मोर्चा साथै विभिन्न विभागका युनियन सदस्य, पार्टीका शाखा सभापति, सचिव तथा प्रतिनिधिहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *