दार्जिलिङलाई तार मुक्त सहर बनाउनको लागि नगरपालिका प्रयासरत्

दार्जिलिङ (निसं): दार्जिलिङ सहरलाई तार मुक्त बनाउने दिशामा दार्जिलिङ नगरपालिका हाल प्रयासरत रहेको देखिन्छ। दार्जिलिङ एउटा प्रमुख पयर्टन स्थल भएको हुनाले यहाँ देश-विदेशका पयर्टकहरू घुम्न आउने गर्छन तर दार्जिलिङ सहर लगायत यसको वरिपरि क्षेत्रहरूमा जता-तत्तै विभिन्न प्रकारको तारहरूको थुप्रो रहेकोले गर्दा पयर्टकहरूले यहाँको विभिन्न दृश्यहरूको फोटो खिच्ने तथा सेल्फी खिच्ने क्रममा ती तारहरूको थुप्रोले गर्दा भने जस्तो फोटोहरू आउन नसकेको कतिपय पर्यटकहरूको गुनासो रहेको छ। यसपछि नै दार्जिलिङ नगरपालिकाले तारमुक्त दार्जिलिङ सहर बनाउने दिशामा कार्य सुरू गरेको बताइएको छ। यसैक्रममा गत केही दिन अघिदेखि दार्जिलिङ नगरपालिकाले क्याबल ओपरेटर, इन्टर नेट लाइन लगायत विभिन्न कम्पनीका पदाधिकारीहरूसँग बैठक गरेका थिए अनि उक्त बैठकमा उपस्थित रहेका पदाधिकारीहरूसँग दार्जिलिङ नगरपालिकाले चर्चा-परिचर्चा गरेर दार्जिलिङको प्रसिद्ध पयर्टन स्थल चौरास्तादेखि रेलवे स्टेशनसम्म सबै पुरानो तारहरूलाई हटाउने निर्णय लिएको थियो। त्यही निर्णय अनुसार चौरास्ता परिसर लगायत क्याभेन्टससम्मको सबै पुरानो तारहरू हटाउने कार्य भइसकेको छ। यस वाहेक दार्जिलिङ सहरको धेरैवटा स्थानहरूमा माकुराको जाल सरह तारहरूको थुप्रो रहेकोले ती तारहरू पनि अब हटाइने विषयमा दार्जिलिङ नगरपालिकाले धेरैपल्ट बैठक गरे तापनि ती बैठकमा उपस्थित रहनु पर्ने क्याबल ओपरेटर, इन्टर नेट लाइन लगायत विभिन्न कम्पनीहरूका पदाधिकारीहरू उपस्थित नभएको हुनाले गर्दा दार्जिलिङ सहरलाई तार मुक्त सहर बनाउने दिशामा भने जस्तो कार्यहरू नभएको दार्जिलिङ नगरपालिका सूत्रले जनाएको छ। यसै सन्दर्भमा आज फेरि दार्जिलिङ नगरपालिकाले एउटा बैठक सम्पन्न गऱ्यो। उक्त बैठकपछि दार्जिलिङ नगरपालिकाको विद्युत विभागीय अधिकारी कार्सुङ भोटियाले तिहारपछि दार्जिलिङ नगरपालिकाले शहरलाई तार मुक्त सहर बनाउने दिशामा तीव्र गतिमा काम गर्ने निर्णय लिएको जानकारी दिएका छन्। तिनले अझ भने, यस विषयलाई लिएर तिहारपछि फेरि दार्जिलिङ नगरपालिकाले बैठक डाक्नेछ अनि उक्त बैठकमा अंश ग्रहण नगर्नेहरू विरूद्ध नगरपालिकाले कार्वाही गर्नेछ। दार्जिलिङ सहरलाई तार मुक्त बनाउन तपाई-हामी सबै एकबद्ध भएर काम गर्नु पर्छ भन्ने पनि तिनले आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *