दशैंको मुखैमा बाट्ठो भएर कमान किन बन्द गर्नु परेको? : बीपी बजगाईं

सोनादा (निसं): खरसाङका विधायक बीपी बजगाईंले हाल बन्द अवस्थामा रहेको बन्सल कम्पनी अधिनस्थ रंगमुक, सिडर्स र मुण्डा चियाबारीको हिज भ्रमण गरे। विधायक बजगाईले यस भ्रमण अवधि रंगमुक कमानको प्रबन्धकसित भेटघाट गरी भविष्यमा कुनै पनि बैठकमा यदि एक्लो पार्टीको ट्रेड युनियन मात्र छ भने तेस्तो सभामा नगइदिने अनुरोध गरेका छन्। तिनले चियाबारीका श्रमिकहरूसित पनि भेटघाट गरे। चियाबारीको भ्रमण गरेपछि विधायक बीपी बजगाईंले सिडर्स चियाबारीमा श्रमिकहरुलाई सम्बोधन गर्दै 20 प्रतिशत बोनसमा पनि नेताहरूले कमिशन खान्छ भन्दै दशैंको मुखैमा बाट्ठो भएर बगान किन बन्द गर्नु परेको भनी प्रश्न गर्दै यो कमानमा विदेशको कम्पनीले लगानी गरेको छ भनी बताए। बजगाईले भने, ‘यो बगानको मालिकले 110 करोड़को ऋण लिएको छ तर तिरेको छैन बरु विदेशको कम्पनीलाई उल्टै पैसा लगानी गर्न लगायो अनि विदेशको कम्पनीले 400 करोड़ लगानी गरेको छ। त्यो 400 करोड़बाट लिएको 110 करोड़को ऋण तिर्नु पर्ने हो तर अझ दुईवटै पैसा मिलाएर 14 वटा नयाँ कम्पनी किनेको छ बगानको मालिक सञ्जय बन्सलले। म विदेशको कम्पनीसित सम्पर्क गर्ने प्रयास गर्नेछु। यो कमानलाई पानीघट्टा र लङ्भ्यु जस्तो बनाउन खोज्दै छ। जहिले पनि बोनसको समय मालिकको हितैषी हुने श्रमिकहरूको पक्षमा हुँदैन, नेताहरूले श्रमिकहरूको पैसा खाएको जाँच हुनुपर्छ भनि तिनले बताए। तिनले अझ भने, श्रमिक संगठन भएपछि श्रमिकको पक्षमा हुनुपर्छ मालिकको पक्षमा हुनु हुँदैन। बंगाल सरकार पनि कता छ ? सरकार मालिकको पक्षमा रहेको छ। यसको कुरा उठान हुनेछ। तिनले पहाड़को सबै चियाबारीहरू प्राय: जस्तो दशैंको मुखैमा मात्र बन्द हुने गर्छ भनी बताउँदै यो चियाबारीको समस्या समाधानको लागि जीटीए चिफ् एक्जीक्युटिभ अनित थापा आफै र भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियनकाहरू दुईजना प्रबन्धक र जिल्ला शासक पनि बसेको अनि भोलिपल्ट 5 दिनको लागि बगान बन्द भनियो। तर जिल्ला शासकले एउटा पार्टीका प्रतिनिधिहरूसित एकल निर्णय हुने गरी कसरी बैठक बस्यो भनी प्रश्न गर्दै यसमा प्रशस्तै शंका गर्ने ठाउँ रहेको र यस्तो बैठकमा त जनप्रनिधिहरूलाई बोलाउनु पर्ने हो अनि हामी पनि चुनाउ आयोगको नियम अनुसार चुनाउ जितेर आएका जनप्रतिनिधिहरू हौं तर हामीलाई बैठकमा बोलाइएन भनी बताएका छन्। खरसाङका भाजपा विधायक बीपी बजगाईंसितै भाजपा सोनादा मण्डलको सभापति राम प्रधान, भूपति सुब्बा, प्रणय शर्मा, क्रामाकपाबाट उध्दव खनाल, भुपेन छेत्री लगायत अन्यहरू पनि उपस्थित थिए। स्मरण रहोस, बन्सल अधिनस्थ चियाबारीहरूमा हाल श्रमिकहरूले खर्च नपाउनको साथै अहिले आएर दशैंको मुखैमा चियाबारीहरू बन्द गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *