डेङ्गुको रोकथाम गर्न सिलगढी नगरनिगम असमर्थ रहेको विरोधी दल नेता अमित जैनको आरोप

सिलगढी : सिलगढी सहरमा दिनप्रतिदिन डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ। सिलगढी नगरनिगम यसको रोकथाम गर्न असमर्थ रहेको विरोध दल नेता अमित जैनले आरोप लगाएका छन्। तिनले आज पत्रकारहरूसित कुराकानी गर्दै सिलगढी सहरमा डेङ्गुको बढ्दो प्रकोपलाई लिएर नगरनिगमविरुद्ध क्षोभ प्रकट गरे। तिनले भने, सिलगढी सहरमा जल निकासी व्यवस्था राम्रो छैन, विभिन्न कन्स्ट्रक्सन इलाकाहरूमा धेरै दिनदेखि काम बन्द रहेकोले त्यहाँ पानी जम्ने गरेकोले गर्दा नै मच्छरहरूको संख्या बढ्दै गइरहेको छ। यसको साथै नगरनिगमको तर्फबाट डेङ्गुबारे सचेतनता अभियान राम्रो प्रकारले नगरेकोले गर्दा नै सहरमा डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ। राज्य सरकारद्वारा प्रदान गरिएको स्वास्थ्य साथी कार्ड मार्फत् डेङ्गु रोगीहरूको चिकित्सा व्यवस्था गरियोस् भनी तिनले बताए। अर्कोतिर, नगरनिगमको स्वास्थ्य विभागका मेयर परिषद दुलाल दत्तले भने, नगरनिगम अन्तर्गत सबै वार्डहरूमध्ये 4 र 5 नम्बर वार्डमा सबैभन्दा धेर फोहोर मैला रहेको छ। त्यहाँको ड्रेनहरू राम्रोसित सफा नगरेकोले गर्दा नै इलाकामा डेङ्गुको प्रकोप अधिक छ। ती वार्डहरूमा काम गराउने काउन्सिलरको दायित्व हो, काउन्सिलरहरू पनि सचेत हुनु आवश्यक रहेको छ। तब मात्र हामी डेङ्गुको रोकथाम गर्न सक्षम हुनेछौ भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *