सिलगढी : सिलगढीको विभिन्न वार्डमा डेङ्गु रोगीहरूको सङ्ख्या बढ्दै गइरहेको छ भने डेङ्गुले संक्रमित भएर एकजना व्यक्तिको मृत्यु भएको खबरले सहरवासी चिन्तित छन्। मृतक व्यक्ति 48 वर्षीय सञ्जित राय सिलगढीको मिलनपल्ली इलाकाको एउटा सराकरी आवासमा बस्ने गर्दथे। केही दिनदेखि सञ्जित रायलाई ज्वरो आएकोले गर्दा तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो भने पछि अझ राम्रो चिकित्साको लागि तिनलाई एउटा गैर सरकारी अस्पतालमा भर्ना गरिएको थियो। यसपछि तिनको मृत्यु भएको बताइएको छ। सिलगढी नगरनिगमका मेयर गौतम देव हिजो साँझ मृतकको घरमा पुगेर परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै शोक समवेदना प्रकट गरे। तिनले भने, डेङ्गुको रोकथामको लागि नगरनिगमले विविध पदक्षेप ग्रहण गरिसकेको छ। यो खुबै दुखको कुरा हो। यहाँ हाउजिङ कम्प्लेक्समा झार-जङ्गल बढेकोले हाउजिङ डिपार्टमेन्टसित कुराकानी गरेर जङ्गलको सफाई गर्न लगाउनेछु। बोरोको तर्फबाट पनि जङ्गलको साफ सफाई गरिनेछ। अर्कोतिर, मृतककी स्वास्नी गीता रायले भनिन्, मेयर गौतम देवले आफूहरूको साथमा रहने आश्वासन दिएका छन्। नगरनिगम स्वास्थ्य विभाग सूत्रले दिएको जानकारी अनुसार यस वर्ष सिलगढीमा डेङ्गुले संक्रमित भएर मृत्यु भएको यो पहिलो घटना हो। हाल डेङ्गु संक्रमितहरूको संख्या 3 सय पुगिसकेको छ। उक्त घटनापछि सिलगढी नगरनिगमको भूमिकालाई लिएर सहरवासीहरूले प्रश्न चिन्ह खडा गरेका छन्।