देशव्यापी बन्दको मिश्रित प्रभाव देखापर्यो सिलगढीमा

सिलगढी : केन्द्र सरकारको विभिन्न नीतिविरुद्ध वामफ्रन्ट, विभिन्न केन्द्रीय ट्रेड युनियन तथा फेडरेशनको तर्फबाट आज देशव्यापी बन्द बोलाइएको छ। आज बिहानैदेखि सिलगढी सहरको बन्दको मिश्रित प्रभाव देखियो। सरकारी बसहरू, यानवाहनको चलाचल स्वभाविक रहे तापनि सहरमा प्रायजसो दोकानपाट बन्द रहेको छ। सहरको विधान मार्केट लगायत केही बजारहरू आज पूर्ण रूपमा बन्द रहेको छ भने यहाँको जङ्क्सन इलाका स्वभाविक देखियो। यहाँको तेन्जिङ नोर्गे बस टर्मिनसबाट पहाड भित्रिने लगायत विभिन्न ठाउँहरू जाने वाहनहरूको चलाचल बन्द अवधि स्वभाविक देखियो। तथापि, गत दिनहरूको तुलनमा बन्द अवधि वाहनहरूको चलाचल निक्कै कम्ती देखियो। बन्दको समर्थनमा आज बिहान सिलगढीको हिलकार्ट रोडस्थित माकपाको पार्टी कार्यालय अनिल विश्वास भवनअघिबाट वामफ्रन्टको तर्फबाट सहरमा एउटा र्‍यालीको निकालिइयो। उक्त र्‍यालीमा वामफ्रन्टका शीर्ष नेताहरू तथा कार्यकर्ताहरू सामेल थिए।


अर्कोतिर, मल्लागढी, कोर्टमोड आदि ठाउँबाट पनि बन्दको समर्थनमा आज बिहान र्‍यालीहरू निकालिइयो। बन्द अवधि सिलगढीको वर्द्धमान रोड, एसएफ रोड, हाकिमपाडाको केही ब्याङ्क, दोकान, सपिङ मलहरू खुल्ला रहेको थियो भने बन्द समर्थकहरूले उक्त दोकानपाटहरू बन्द गरिदिएको बताइएको छ। यसको साथै वाम नेता तथा कार्यकर्ताहरूले अनिल विश्वास भवन अघि हिलकार्ट रोडमा चलाचल गरिरहेको वाहनहरू रोकिदिए।


यसैगरी सीपीएमको एनजेपी लोकल कमिटीका सदस्यहरू सिलगढीको गेट बजारको सडकमा ओर्लिएर बन्द अवधि वाहनहरूको चलाचल नगरिदिने अपील गर्दै ती वाहनहरू रोकिदिएको बताइएको छ। अर्कोतिर, एनजेपी स्टेशन क्षेत्रमा आज बन्दको आंशिक प्रभाव देखापर्यो। एनजेपी स्टेशनमा ट्रेनहरूको चलाचल स्वभाविक रहे तापनि स्टेशनको चारैतिर रहेका प्रायःजसो दोकानपाटहरू बन्द देखियो भने स्टेसन परिसरमा यात्रीहरू निक्कै कम्ती देखियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *