डीएचआर-लाई निजीकरण गर्ने विरोधमा खरसाङ बजारमा विरोध ऱ्याली

खरसाङ : केन्द्र सरकारले देशको सम्पत्तिहरू निजीकरण गर्ने घोषणामा दार्जिलिङ हिमालयन रेलवे पनि परेकोले डीएचआर-लाई निजीकरण गर्ने विरोधमा विभिन्न पक्षबाट विरोध भइरहेको छ। यसै क्रममा आज एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा रेलवे निजीकरणको विरोध गर्दै खरसाङ बजारमा विरोध रेली निकाल्यो। उक्त विरोध रेली खरसाङको रेलवे स्टेशनबाट शुरु भएर मोटर स्ट्याण्ट हुँदै हिल कार्ट रोड भएर महकुमा अस्पताल परिसरसम्म पुगेर वर्तमान रोड हुँदै फर्केर पुन: रेलवे स्टेशनमा आएर पथ सभामा परिणत भयो। उक्त पथ सभालाई रेलवे कर्मचारी साथै इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले सम्बोधन गर्दै दार्जीलिङ हिमालयन रेलवेमा तीनधारेको कारखाना लगाएर जम्मा 330 जना कर्मचारीहरू सोझै डीएचआरमाथि निर्भर छन् तर डीएचआर निजीकरण भए कर्मचारीहरू मात्रै होइन यहाँ रहेको लगभग 600 रिक्त पदहरू पनि हराएर जानेछ भनी बताए। सचिव विशाल मुखियाले रेलवे नीजिकरण भएको खण्डमा पहाड़मा बेरोजगारी समस्या अझ बढ़ेर जाने र भविष्यमा रेलवेमा नोकरी पाउने साधन सँधैको लागि हराएर जाने बताए। यस विरोध प्रदर्शनमा इम्प्लोइज युनियन खरसाङ शाखाका प्रतिनिधिहरू लगायत अवकाश प्राप्त रेलवे कर्मचारी सङ्घ खरसाङ शाखा र रेलवे कन्ट्राक्टर एसोसिएशनको प्रतिनिधिहरू उपस्थित थिए।यस विरोध प्रदर्शन विषयमा पत्रकारहरूसित कुराकानी गर्दै रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाका सचिव विशाल मुखियाले देशको वित्त मन्त्रीद्वारा देशका सम्पत्तिहरू निजीकरण गर्ने घोषणा गरेका थिए जुन लिस्टमा दार्जिलिङ हिमालयन रेलवे पनि परेकोले हामी इम्प्लोइज युनियन खरसाङ शाखाद्वारा यसको विरोध गर्दै डीएचआर-लाई पनि निजीकरण गर्ने सरकारको योजनामाथि पुनर्विचार गरियोस् भनी आज हामीले विरोध प्रदर्शन गरेको बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *