धुपगढीमा लाखौँ रुपियाँको चोरी गरेको काठ जफत

धुपगढी : वन विभागले धुपगढीमा अभियान चलाएर लाखौँ रुपियाँको चोरी गरेको सालको काठ उद्धार गरेको छ। प्राप्त जानकारीअनुसार गोप्य सूचनाको आधारमा जलपाईगढी वन विभागको मोराघाट रेञ्जका वन कर्मीहरूले धुपगढी नगरपालिका अन्तर्गत पर्ने 2 नम्बर वार्डको कमातपाड़ा इलाकामा मङ्गल सरकार नाम गरेका  एकजना व्यक्तिको घरमा अभियान चलाएर लाखौँ रुपियाँको चोरी गरेको काठ उद्धार गरेको छ। वनकर्मीले दिएको जानकारीअनुसार डुवर्सको विभिन्न जङ्गलबाट रुखहरू काटेर उक्त काठ मङ्गल सरकारको घरमा एकत्रित गरेर राखेको थियो। तथपि, वनकर्मीहरू आएको सुइँको पाएर काठ तस्कर मंगल सरकारले सुइँकुच्चा ठोकेको बताइएको छ। जफत गरेको काठ मोराघाट रेञ्ज कार्यालयमा लगियो। यस सम्बन्धमा मोराघाट रेञ्जका रेञ्ज अधिकारी राजकुमार पालले धुपगढी 2 नम्बर वार्डस्थित मङ्गल सरकारको घरबाट सालको काठ उद्धार गरेको साथै जफत गरेको काठको अनुमानित बजार मूल्य लाखौँ रुपियाँ रहेको बताइएको छ। अदालतले मङ्गल सरकारको नाममा वारन्ट जारी गरेको छ भने घटनाको जाँच शुरू गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *