दिलिप घोषको टिप्पणीको मङपु युवा मोर्चाद्वारा भर्त्सना

मङपु: दार्जिलिङ जिल्लाको मङपु लाब्दा समष्टि युवा मोर्चाले पनि गोर्खाहरूकोबारे गरेको बंगाल प्रदेश भाजपा अध्यक्ष दिलिप घोषको टिप्पणी माथि घोर बिरोध जनाएको छl लाब्दा मङपु समष्टी युवा मोर्चा प्रवक्ता बिभोर तामाङले भारतको कुन संविधान र कानुनमा गोर्खालाई कुकुर जस्तो ब्यवहार गरेर गोली ठोक्ने आदेश लेखिएको छ भन्दै प्रश्न गरेका छन्। तिनले बताए अनुसार आज भारत राष्ट्र भरि बसेको बासिन्दाहरुलाई मिठो अनि शान्तिको निन्द्रा दिनको निम्ति देशको सिमानामा देश रक्षामा गोर्खाहरू खटिरहेका छन्। देशको लागि गोर्खा कहिले पछि हटेको इतिहास छैन भन्दै तिनले राष्ट्रको प्रगति अनि विकास र सुरक्षाको लागि भारत देशमा गोर्खाको अरु जातिको झै योगदान रहेको दावी गरेका छन्। यस्तो स्थितिमा गोर्खाहरूबारे भाजपा नेता दिलिप घोषलाई यस्तो टिप्पणी गर्ने कुनै अधिकार नरहेको साथै तिनको टिप्पणीको घोर निन्दा गरेका छन्। यसैगरी, लाब्दा मङपु समष्टीका गोजमुमो युवा मोर्चा अध्यक्ष दिब्य बम्जनले मङ्पु क्षेत्रबाट मात्र नभएर पहाडको चारैतिरबाट भाजपा नेता दिलिप घोषको टिप्पणीको घोर भर्त्सना गरिनु पर्ने आह्वान गरेको जारी एउटा प्रेस विज्ञप्ति मार्फत जनाएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *