दिनहाटा उपचुनाउको प्रचार गर्न आइपुगे केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रामाणिक  

सिलगढी  : केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रामाणिक आज विमानमार्फत्  बाघडुग्रामा विमानअड्डामा ओर्लिएपछि पार्टीका कार्यकर्ताहरूले तिनलाई भव्य स्वागत जनाए। यस अवसरमा पत्रकारसित कुराकानी गर्दै तिनले दिनहाटा उपचुनाउका भाजपा प्रार्थी अशोक मण्डललाई चुनाउ प्रचार गर्नमा बाधा दिइरहेको आरोप लगाउँदै उक्त घटनाको कठोर शब्दमा निन्दा गरे। तिनले मानिसहरूलाई डर देखाएर सत्तरूढ पार्टीले चुनाउ जितेको आरोप समेत लगाए। भवानीपुरको गत उपचुनाउमा पनि साधारण मानिसहरूलाई डर देखाएको थियो भने यता दिनहाटामा पनि तृणमूल कङ्ग्रेसले साधारण मानिसहरूलाई डराउने-धम्काउने प्रयास गरिरहेको भए तापनि यहाँका मानिसहरू भ्रमित भएका छैनन्। दिनहाटाका साधारण मानिसहरू आफ्नो बहुमूल्य मतदान खसाल्न मतदान केन्द्रमा अवश्य जानेछन् अनि भाजपा प्रार्थी अशोक मण्डललाई विपुल मतले विजय गराउनेछन् भनी तिनले दावी गरे। अर्कोतिर, हालै अत्यधिक परेको पानीले दार्जिलिङ पहाडको विभिन्न ठाउँहरूमा गएको पैह्रोको स्थितिको निरीक्षण गर्नको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उत्तरबंग भ्रमणमा आउने कुरालाई स्वागत जनाउँदै केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रामाणिकले तिनको सराहना गरे। कुनै पनि प्राकृतिक आपदाको समय प्रत्येक नै साधारण मानिसहरूको सहयोगको लागि अघि आउनुपर्ने बताउँदै तिनले मुख्यमन्त्रीको उक्त पहलको सराहना गरे तापनि मुख्यमन्त्रीको उत्तरबंग भ्रमणमा आउनु विलम्ब भएको बताए। तिनले भने, मुख्यमन्त्री यसभन्दा अगावै उत्तर बंगाल भ्रमणमा आएको भए राम्रो हुने थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *