सिलगढी : एकपछि अर्को गर्दै सफलता हासिल गरे तापनि सरकारको तर्फबाट दिव्याङ्ग टेबल टेनिस खेलाड़ीहरूले हालसम्म कुनै सहयोग पाएका छैनन्। टेबल टेनिस स्टार तथा बंगरत्न भारती घोषले आज पत्रकार सम्मेलनको आयोजना गरेर यस प्रकारको मन्तव्य पोखेकी छन्। सिलगढीलाई टेबल टेनिसको प्राण केन्द्र मानिने गरिन्छ। सौमजीत, अङ्किता जस्ता खेलाड़ीहरूले कमनवेल्थ, ओलम्पिक जस्ता अन्तर्राष्ट्रिय स्तरमा सिलगढीबाट टेबल टेनिसमा भाग लिएका थिए। गत 28 अगस्तमा पश्चिम बंगाल टेबल टेनिस च्याम्पियनशिप अफ द डेफ प्रतियोगितामा 5 जना दिव्याङ्ग खेलाड़ीहरूले अंश ग्रहण गरेर पदक पनि जितेका थिए। तर तिनीहरूलाई प्रोत्साहित गर्नको लागि कोही अघि आएनन्। भारती घोष र फिजिकल ट्रेनर देव कुमार दे-ले विभिन्न बाधाहरूको सामना गर्दै सबै खेलाड़ीहरूलाई प्रशिक्षित गर्ने गर्दछन्। भारती घोष र देव कुमार दे-ले आज टेबल टेनिस प्रतियोगितामा विभिन्न श्रेणीमा सफलता प्राप्त गरेका खेलाड़ीहरूलाई सम्मानित गरे। यस अवसरमा भारती घोषले भनिन्, सिलगढीका केही खेलाड़ीहरूले विभिन्न प्रतियोगिताहरूमा अंश ग्रहण गरेर पदक समेत हत्याइसकेका छन्। तर ती खेलाडीहरूलाई कसैले पनि प्रोत्साहित गरेको छैन भने सरकारको तर्फबाट समेत तिनीहरूले कुनै सहयोग पाएका छैनन्। केही दिन अघि कान नसुन्ने खेलाडीहरूको लागि आयोजना गरिएको राज्य स्तरीय टेबल टेनिस प्रतियोगितामा सिलगढीका खेलाडीहरूले विभिन्न श्रेणीमा सफलता हासिल गरेका थिए। दिव्याङ्ग खेलाडीहरू सदैव वञ्चित रहने गरेकोले यदि सरकार अथवा अन्यले ती दिव्याङ्ग खेलाड़ीहरूलाई ध्यान नदिए टेबल टेनिसमा विकास सम्भव छैन। यसैले तिनले सबैलाई सहयोग गर्ने अपील पनि गरिन्। सिलगढी तथा भारतबाट प्रत्येक वर्ष उत्कृष्ट खेलाड़ीहरूको जन्म हुने गर्दछ तर केवल दिव्याङ्ग हुनको कारण तिनीहरूले उचित लाभ तथा पदोन्नति पाएका छैनन्।