दिवाकर खवासको गीत ‘मेरी माया’-को लोकार्पण

खरसाङ: सिटोङ दुई ग्राम पञ्चायत अन्तर्गत मामरिङ निवासी युवा कलाकार दिवाकर खवासको शब्द, सङ्गीत अनि स्वरमा आबद्ध गीत ‘मेरी माया’-को आज मामरिङ-तोर्‍योक उच्चत्तर माध्यमिक विद्यालय भवनमा विधिवत् लोकार्पण गरियो। मामरिङ-तोर्‍योक उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक किरण ब्लोनको सभापतित्वमा सम्पन्न समारोहमा मुख्य अतिथिको रूपमा सङ्गीत गुरू एवम् गीति गुञ्ज महाविद्यालयका प्राचार्य, गजल गो गोविन्दसिंह घतानी उपस्थित थिए भने विशिष्ट अतिथिको रूपमा गायक कर्म शेर्पा लगायत स्थानीय विभिन्न संघ-संस्थाका पदाधिकारीहरू, शिक्षक-शिक्षिका, वरिष्ठ नागरिकहरू, समाजसेवीहरूको उपस्थिति रहेको थियो। सकुल खवासले सञ्चालन गरेको समारोहमा स्वागत सम्बोधन राजु खवासले राखेका थिए। गीत, नृत्य आदिबाट शुरू गरिएको कार्यक्रममा लोकार्पित म्युजिक भीडियोको सम्पूर्ण टोलीलाई गायक दिवाकर खवासका माता-पिता अनि बाजे-बोज्यूको बाहुलीबाट खदा लगाएर अनि मायाको चिनो प्रदान गरेर सम्मान जनाइयो। दिवाकरको साङ्गीतिक यात्रा अनि विमोचित गीतको बारेमा रबीन खवासले विस्तृत रूपमा जानकारी दिए।


कार्यक्रममा म्युजिक भीडियोको समारोहका प्रमुख अतिथि गोबिनसिंह घतानीले ल्यापटपको बटम दबाएर विधिवत् रूपमा लोकार्पण गरे। त्यसपछि म्युजिक भीडियो मेरी मायाको प्रर्दशन गरियो अनि गायक दिवाकर खवासले पनि लोकार्पित गीत गाए। समारोहका विशिष्ट अतिथि गायक कर्म शेर्पाले कलाकार जन्मिनु ठूलो कुरा होइन तर कलाकारलाई सम्मान गर्नु अनि उसलाई त्यो क्षेत्रमा प्रोत्साहित गर्नु सबभन्दा ठूलो कुरा हो भन्दै सिटोङ-मामरिङले यसरी कलाकारहरूलाई संरक्षण गर्ने, श्रद्धा गर्ने तथा प्रोत्साहित गर्ने कार्य गरेकोले एकजना कलाकारको हैसियतले विशेष आभार प्रकट गरे। तिनले प्रभाकरको बारेमा बताउँदै साङ्गीतिक क्षेत्रमा तिनको भविष्य उज्ज्वल रहेको बताए। समारोहका प्रमुख अतिथि गुरूजी गोबिन्दसिंह घतानीले आफ्नो सम्बोधनमा सङ्गीतमा गुरूभक्तिको धेरै महत्वपूर्ण स्थान छ भनी बताए। तिनले सङ्गीत साधकहरूले आफ्ना गुरूको सधैँ सम्मान गर्नुपर्छ। सङ्गीतमा संस्कार हुनुपर्दछ भन्दै यसलाई सबैले ध्यान दिनुहोला भनी आग्रह गरे। दिवाकर खवास एकडना सफल गायक बनेको अवगत गराउँदै तिनी सानै उमेरदेखि सङ्गीतप्रति रूचि राख्ने गरेको तथा तिनको लगन र असल साधनाको कारण यसरी तिनी सङ्गीत क्षेत्रमा सफल बनिरहेको जनाए। दिवाकरले पत्रकारहरूसित कुराकानी गर्दै आफ्नो साङ्गीतिक यात्रा अनि यस गीति भीडियो निकाल्दाको अनुभव र समस्याहरूबारे अवगत गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *