दिवङ्गत भवजीत तामाङको स्मरणमा श्रद्धाञ्जलि सभा

सुकेपोखरी : स्रष्टा परिवार नागरी फार्मको पहलमा गिरी पुरस्कार प्रापक  भारतीय नेपाली साहित्यका वरिष्ठ साहित्यकार, नागरी फार्म उच्चतर माध्यमिक विद्यालयका पूर्व गणित शिक्षक तथा समाजसेवी दिवङ्गत भवजीत तामाङको स्मरणमा श्रद्धाञ्जलि सभा आज सम्पन्न गरियो। मिलन थुथमोसिस राईको स्वागत सम्बोधनपछि एसबी राईले सञ्चालन गरेको सभाको पहिलो चरणमा दीप प्रज्ज्वलन गरी दिवङ्गत भवजीत तामाङको आत्मा शान्तिको कामनामा गर्दै मौन धारण गरियो। एसके बान्तावाको अध्यक्षतामा तथा कवि मदन ओझाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरूमा गायक विनोद स्याङदेन, साहित्यकार अर्जुन प्रधान, लक्की स्याङदेन आदिको उपस्थिति रहेको थियो। सम्बोधनको क्रममा अर्जुन प्रधानले साहित्यकार तामाङको अधुरो रहेको कथा सङ्ग्रह सरोगेट मदर-को प्रकाशन लगायत तिनको स्मरणमा स्मृति ग्रन्थ प्रकाशित गरिनु पर्ने मन्तव्य जाहेर गर्दै तिनको कृति र कर्मको उचित मूल्याङकन गरिनु आवश्यक रहेको बताए। कवि मदन ओझाले भवजीत तामाङको सम्झना आलो राख्न कुनै पथ वा मार्गको नाम भवजीत मार्ग राखिए उचित हुने बताए। किशन प्रधानले सम्बोधन गरेको कार्यक्रममा मनोज लामाले श्रद्धाञ्जलि कविता वाचन गरे। कार्यक्रममा दिवङ्गत साहित्यकारकी स्वास्नी रोमा तामाङ तथा परिवारका सदस्यहरू एवम् स्रष्टा परिवारका सदस्यहरूको विशेष उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *