डा. मुनिस तामाङ नेशनल फेडरेसन फर न्यु स्टेट्स-का अध्यक्ष निर्वाचित, दार्जिलिङमा हुने कार्यक्रममा औपचारिक पदभार ग्रहण गर्ने

सिलगढी : भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष डा. मुनिस तामाङ नेशनल फेडरेसन फर न्यु स्टेट्स (एनएफएनएस)-का अध्यक्ष निर्वाचित भएका छन्। फेडरेसन एउटा राष्ट्रिय मञ्च हो, जहाँ राजनैतिक अनि सामाजिक संगठनहरू, नेतृत्वहरू लगायत व्यक्ति विशेषहरू भारतमा विभिन्न राज्य दर्जाका मागहरू लिएर संलग्न भएका छन्। वर्तमानमा राज्य निर्माणको कार्य प्रणालीमा एनएफएनएस-ले गोर्खाल्यान्ड अनि उत्तर पूर्वाञ्चलका केही राज्यहरूबाहेक बोरोल्यान्ड, विदर्भ, बुन्डेलखन्ड, तिप्राल्यान्ड, लद्दाखलाई अन्तर्भुक्त गरेर कार्य सञ्चालनमा गतिशील भएको छ। एनएफएनएस-ले आगामी 26 सेप्टेम्बर 2021-को दिन दार्जिलिङमा गोर्खाल्यान्ड क्षेत्रका विभिन्न राजनैतिक, सामाजिक, सांगठनिक नेतृत्वहरूसित अन्तर्क्रियात्मक सभा गर्ने भएको छ। उक्त दिनको कार्यक्रममा नै डा. मुनिस तामाङले विधिवत् रूपमा अध्यक्षको पदभार ग्रहण गर्ने बताइएको छ। यस अवसरमा एनएफएनएस-का वरिष्ठ सदस्यहरू लगायत विभिन्न ठाउँका पूर्व मन्त्रीहरू, पूर्व सांसदहरू तथा विधायकहरूको पनि उपस्थिति रहने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *