डा. रोहित शर्माले प्राथमिक शिक्षा बोर्ड चेयरम्यानको कार्यभार 4 अप्रेलदेखि सम्हाल्ने

खरसाङ : दार्जिलिङ जिल्ला पाठशाला प्राथमिक शिक्षा बोर्डको नयाँ चेयरम्यानको पदमा मनोनित गरिएपछि पहिलोपल्ट पत्रकारहरूसित कुराकानी गर्दै डा. रोहित शर्माले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिएका छन्। तिनले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जिलिङ पहाड़ भ्रमणमा रहेको समय दार्जिलिङ जिल्ला प्राथमिक पाठशाला शिक्षा बोर्डको चेयरम्यान पदमा नियुक्त गरेको आफुले फोनमार्फत जानकारी प्राप्त गरेको र यो सुनेर आफु छक्कै परेको पनि बताए। डा. शर्माले आफुलाई दिएको जिम्मेवारीलाई निष्ठापूर्वक निभाउने साथै आगामी 4 अप्रेलदेखि अफिस जोइन्ट गर्ने जानकारी दिएका छन्। तिनले यहाँको समस्याले निकास पाउनुपर्छ भन्दै पहिला सबैसित सर-सल्लाह गरेर के-कस्ता समस्याहरू छन् त्यो बुझेर प्राथमिकता अनुसार विस्तारै कार्य गर्दै जाने आफ्नो योजना रहेको बताएका छन् । पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा दार्जिलिङ जिल्ला प्राथमिक पाठशाला शिक्षा बोर्डको नयाँ चेयरम्यान डा. रोहित शर्माले पहिला बोर्ड बनाएर त्यसपछि कार्य थालिने अनि प्राथमिक पाठशालाहरुको समस्याहरू बुझ्नलाई शहरी क्षेत्र र ग्रामीण क्षेत्रतिर टीम नै गएर भ्रमण गरी प्राथमिक पाठशालाको शिक्षकहरू र अभिभावकहरुसित बसेर समस्याहरू बुझ्ने जानकारी गराए। तिनले आफ्नो कार्यकाल एक वर्षको रहेको र यस समयभित्रमा धेरै समस्याहरू समाधान गर्न कोशिश गर्ने बताउँदै यो जिम्मेवारीको लागि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी लगायत राज्यसभा सांसद शान्ता छेत्री, हिल तृणमूल कङ्ग्रेसको दार्जिलिङ जिल्ला र कालेबुङ जिल्लाको चेयरम्यान एलबी राई, प्रवक्ता एवम् महासचिव एनबी खवास र बिनय तामाङप्रति आभार प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *