दुधेका सौरभ थामीको दुर्घटना नभएर हत्या गरिएको परिवार पक्षको आशंका

खरसाङ : खरसाङ खण्ड अन्तर्गत दुधे निवासी बुद्धिमान थामी(भक्ते)-को कान्छो छोरा 21 वर्षीय सौरभ थामीको सडक दुर्घटनामा परेर मृत्यु भएपछि दुधे क्षेत्रमा शोकको लहर छाएको छ भने परिवारपक्ष अनि स्थानीय गाउँलेहरूले सौरभ थामीको दुर्घटनामा मृत्यु नभएर हत्या गरिएको आशंका गरेपछि सोमवार दुधे क्षेत्रमा तनाउ देखा पऱ्यो। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार सौरभ गत गत 21 फरवरी साँझपख घरबाट आफ्नो स्कूटी लिएर निस्किएका थिए। यसपछि 23 फरवरीको राति प्रायः एघार बजीतिर अचानाक सौरभका पिता बुद्धिमानलाई गाडीधुरा थानाबाट तिनको छोरा एउटा सडक दुर्घटनामा परेर निधन भएको औ हाल नर्थ बेङ्गाल मेडिकल कलेज तथा अस्पतालमा रहेको जानकारी दिए। यसपछि तत्कालै परिवारपक्ष त्यहाँ पुग्दा अघिबाटै शवको पोस्टमार्टम गरिसकेकोले गर्दा परिवारपक्षले आफ्नो छोराको मृत शरीरलाई घर लिएर आए। परिवार पक्षको दावी अनुसार सौरभको शरीरमा कुनै चोट-पटक नरहेको साथै तिनले चलाएको स्कूटी पनि अघिपट्टि अलिकता मात्रै क्षति भएको बताइएको छ। परिवार पक्षको आरोप अनुसार यदि सौरभको दुर्घटनामा नै मृत्यु भएको हो भने शरीरमा चोटपटक लागेको हुने थियो। फेरि परिवारपक्षलाई पुलिस प्रशासनले खबर दिन किन यति विलम्ब गरे? परिवारको सदस्यको अनुपस्थितिमा मृत शरीरको कसरी पोस्टमार्टम गरियो भन्दै तिनको दुर्घटना नभएर हत्या भएको तर यसलाई पुलिस प्रशासनले लुकाउन खोजिरहेको आरोप परिवार पक्षले लगाएको छ।


 

अर्कोतिर, घटनाबारे जानकारी लिन सौरभको शव उद्धार गर्ने बागडुग्रा थानाका एएसआई प्रल्हाद सिन्हालाई परिवारपक्षले फोन गर्दा पनि तिनले घटनाको उस्तो जानकारी नदिएर केवल राती मोबाइलभ्यान ड्युटीमा रहेको समय बागडुग्रा नजिक गोसाईपुरको अयाप्पा मन्दिर छेउको राष्ट्रिय राजमार्गमा एकजना अज्ञात युवकको शव लावारिश अवस्थामा लडिरहेको स्थानीय मानिसहरूले बताएपछि तत्कालै पुलिसको एउटा दल गएर उक्त शवलाई 22 फरवरी बिहान प्रायः दुई बजी उद्धार गरेर नर्थ बेंगल मेडिकल कलेजमा पोस्टमार्टमको निम्ति पठाइएको साथै त्यसपछि युवकको घर र ठेगाना पत्तो लगाउन नजिकका सबै थानाहरूमा जानकारी दिएको बताएपछि पुलिसले फोन काटेको बताइएको छ। यता, अन्तिम संस्कारको निम्ति चितामा शव जलाउन अघि पनि लगभग तीन घण्टासम्म हिजो तनाउको स्थिति देखा पऱ्यो। अन्तमा घटनास्थलमा आइपुगेका गाडीधुरा थानाका ओसी सुदीप कुमार विश्वासले घटनाको जाँच गरिने अनि राज्यसभा सांसद शान्ता छेत्रीले पनि पुलिस अधिकारीहरुसँग बातचीत गरेर आवश्यक जाँच गर्ने आश्वासन दिएपछि मात्र शवलाई दागबत्ती दिइयो।   परिवारपक्ष अनि स्थानीय गाउँलेहरूले बाघडुग्रा थानाका पुलिस अधिकारीको उक्त भनाईमाथि सहमत नभएको साथै सौरभ थामीको हत्यानै भएको आशंका गरेर यथाशीघ्र न्यायको माग गरेका छन्। यसको साथै घटनाबारे गाडीधुरा थानामा एउटा प्राथमिकी दर्ता पनि गरिएको परिवारपक्षले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *