दुईदिने सुन्तला उत्सवको मङपूमा राज्यको हर्टिकल्चर विभागका मन्त्री सुब्रत शाहको बाहुलीबाट उद्घाटन

मङपू (निस): सिन्कोना एवम् अन्य औषधीय पौधाहरुको सिन्कोना निर्देशालयद्वारा मङपु जनमैदानमा आज सुन्तला उत्सव मनाइयो। आजको कार्यक्रमका प्रमुख अतिथि हर्टिकल्चर विभागका मन्त्री सुब्रत शाहको बाहुलीबाट मङपू सुन्तला उत्सव कार्यक्रमको उद्घाटन गरियो। दार्जिलिङ पहाडको चिया अनि सिन्कोना पछि अर्को मुख्य आयस्रोत मानिने सुन्तलाको खेतीलाई बचाउँनको निम्ति नै सुन्तला उत्सव आयोजन गरिएको बताइएको छ। हाल पहाडमा सुन्तलाको उत्पादनमा कमी आएकोले स्थानीय कृषक दाजु-भाईहरूलाई प्रोत्साहन गराउनको साथै सुन्तला खेतीलाई बचाएर राख्न नै आजको सुन्तला उत्सव पालन गरिएको कुरा सिन्कोना निर्देशक डा.सामुएल राईले जनाए। सिन्कोना निर्देशालय जीटीए अनि पश्चिम बंगाल सरकार वागवानी विभागको संयुक्त तत्वावधानमा मङपु अनि लाटपञ्चरमा दुईदिने ‘ओरेन्ज फेस्टिभल’ आयोजना गरिएको छ। आज शुक्रबार मङपूमा आयोजित पहिलो दिनको कार्यक्रममा वागवानी विभागका मन्त्री सुब्रत शाह प्रमुख रूपमा उपस्थित थिए भने तिनको साथमा वागवानी विभागका अतिरिक्त मुख्य सचिव सुव्रत गुप्ता, जीटीए मुख्य सचिव एस. पुन्नमबलाम, जीटीए प्रमुख कार्यपाल अनित थापा, विधायक रूदेन सादा लेप्चा, डा. सामुयल राई लगायत अन्य सभासद्हरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख कार्यपाल अनित थापाले सरकारलाई अपील गर्दै सुन्तला मात्र होइन, पहाडमा सिन्कोना खेती पनि मासिन लागेको छ। अब यसमा प्राण हाल्ने काम सरकारले गरीदियोस् भनी मन्त्रीको अघि नै अपिल गरे। तिनले अझ भने, 2017 अघि सरकारको मन्त्रीहरु पहाड आउँदा पहाड अशान्ति हुने गर्थ्यो। अहिले सकारात्मक ऊर्जा पहाडमा आएको छ। आजकल महिनामा एकपल्ट कोही न कोही मन्त्री पहाड आउँछन्। यो हाम्रो सरकारसँगको सकारात्मक सहकार्यको परिणाम हो। म सरकारसँग मिलेर काम गर्छु भन्दा मेरो नाममा मुर्दावादको नारा पनि लगाइयो। तर अहिले हाम्रो कामको नतिजा पहाडले देख्दैछ।


सुन्तलाको खेती पहाडको अर्थतन्त्रको मुख्य श्रोत हो भन्दै अनित थापाले भने, “सुन्तला पहाडको एउटा प्रमुख आयको श्रोत थियो। सुन्तला मासिनु भनेको पहाडको अर्थतन्त्रमा धक्का लाग्नु हो। हामीलाई सरकारको सहायता चाहिन्छ। सरकारसँग झगडा गरेर होइन, सरकारको सहयोग लिएर पहाडको अर्थ तन्त्रको पनि विकास गर्नु पर्छ। तिनले सिन्कोना बगानको हालत खस्किँदै गएको बारे अवगत गराउँदै हाम्रो सुन्तला मात्र होइन तर सिन्कोना पनि खतम हुँदैछ, यसमा पनि प्राण हाल्ने काम सरकारले नै गर्नु पर्छ भनी बताए। हाम्रो मान्छेले नै मुद्दा हालेको कारणले गर्दा नै सिन्कोना बगानको पदोन्नति बन्द हुन पुगेका जनाउँदै यसको निम्ति पनि सरकारसित कुरा गरेर चाँडैं नै समस्याको समाधान गर्ने अनितले दावी गरे। अर्कोतिर, सुन्तला उत्सवको अवसरमा आज मङपू पुलिस आउटपोस्ट अनि सिन्कोना निर्देशालयको संयुक्त पहलमा “रन फर अरेञ्ज म्याराथन दौड प्रतियोगिताको परनि आयोजना गरिएको थियो, जसमा पुरूषहरुमा रिकजेन दोर्जी तामाङ प्रथम, प्रणित थापा दोस्रो अनि सचिन गिरी तेस्रो भए भने महिलाहरु माझ सम्पन्न भएको दौड प्रतियोगितामा नैना गुरुङ प्रथम, जिज्ञासा राई दोस्रो र नन्दनी जैसी तेस्रो भइन्। विजयी प्रतियोगीहरुलाई अतिथिहरुको बाहुलीबाट नगद रूपियाँ सहित प्रमाण पत्र प्रदान गरियो। यसैगरी, सुन्तला खाने खुल्ला प्रतियोगिता पनि राखिएको थियो भने भोली 10 अक्टोबरको दिन लाटपञ्चरमा सुन्तला उत्सवको दोस्रो दिनको कार्यक्रम सम्पन्न हुने भएको छ। अन्त्यमा जीटीए सिन्कोना विभागका कार्यकारिणी सभासद रतन थापाले सबैलाई आभार व्यक्त गर्दै कार्यक्रमको अन्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *