दुई महिना अघि निर्माण गरेको नदीको बाँध भत्किएपछि गाउँलेहरूले यसको गुणवत्ताबारे उठाए प्रश्न

राजगञ्ज : राजगञ्ज ब्लकको सुखानी ग्राम पञ्चायत अन्तर्गत पर्ने सुभाषपल्ली इलाकाको करतोया नदीमा लगाइएको बाँध दुई महीनाको अवधिमै भत्किएपछि इलाकावासीहरूले कामको गुणवत्तालाई लिएर प्रश्न तेर्साएका छन्। प्राप्त जानकारी अनुसार राजगञ्ज बजार संलग्न सुभाषपल्ली इलाकाको करतोया नदीको जमिनको कटाउ रोक्नको लागि स्थानीय मानिसहरूले धेरै समय अघिदेखि बाँध निर्माण गरिदिने माग गर्दै आइरहेका थिए भने स्थानीयहरूको उक्त मागलाई ध्यानमा राखेर सिँचाई विभागको तर्फबाट तथा ग्राम पञ्चायत प्रबन्धनको पहलमा लगभग दुई महिना अघि 500 मीटर बाँधको निर्माण गरिएको थियो। 1 करोड़ 34 लाख रुपियाँको लागतमा उक्त बाँधको निर्माण गरिएको दुई महिनाको अवधिमै बाँध भत्किएकोले यसको निर्माणको गुणवत्तालाई लिएर स्थानीय मानिसहरूले प्रश्न तेर्साएका छन्। स्थानीय मानिसहरूले बताएअनुसार उक्त बाँध निर्माण गरिएको दुई महिनाको अवधिमै वर्षाको मौसम आउन अगावै बाँध भत्किएको छ। उक्त बाँधको निर्माण सही रूपमा नगरिएकोले गर्दा नै बाँध भत्किएको हो। चाँडोभन्दा चाँडो बाँधको मरमति गरियोस् साथै बाँध निर्माणको पनि जाँच गरियोस् भन्ने स्थानीय मानिसहरूले माग गरेका छन्। ग्राम पंचायत  प्रधान सम्पा दत्तले स्थानीय मानिसहरूको अभियोग पाएपछि उक्त बाँधको निरीक्षण गर्नको साथै यसबारे सिँचाई विभागलाई जानकारी दिएको बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *