दुर्गा पुजाको कार्निभलबारे मेयर गौतम देवले गरे सिलगढी नगरनिगममा बैठक

सिलगढी : कोलकातामा झैँ यता सिलगढीमा पनि 7 अक्टोबरमा दुर्गा पुजाको कार्निभल आयोजना गरिने भएको छ। यसबारे आज सिलगढी नगरनिगममा मेयर गौतम देवले एउटा बैठक गरे। उक्त बैठकमा सिलगढीका पुलिस कमिश्नर गौरव शर्मा, दार्जिलिङका जिल्लाशासक एस पन्नमबलम, महकुमाशासक प्रियङ्का सिंह, डेपुटी मेयर रञ्जन सरकार, मेयर परिषद तथा अन्य अधिकारीहरू उपस्थित थिए। कार्निभलमा सबैजना सामेल हुन सकोस् भन्ने उद्देश्य लिएर सिलगढीको हिलकार्ट रोडमा कार्निभलको आयोजना गरिने भएको छ। सहरका लगभग 50 वटा क्लबले उक्त कार्निभलमा अंश ग्रहण गर्नेछ भने कार्निभलको लागि मुख्य मञ्च महात्मा गाँधी मोडमा बनाउने भएको छ। बैठकको अन्तमा मेयर देवले भने, प्रथमपल्ट कार्निभलको आयोजना गरिने भएकोले यसलाई लिएर आज एउटा बैठक गरिएको हो। कार्निभल अवधि हासमी चौकदेखि महात्मा गाँधी मोड़सम्म रङ्गारङ्ग झाँकी निकालिइनेछ। यसपछि जस-जसले मूर्ति पुजा गर्छन् तिनीहरू महानन्दा लालमोहन मूल घाटसम्म जानेछ भने अन्य वर्द्धमान रोड हुँदै क्लबमा जानेछन्। उक्त कार्निभलले सहरवासीको मन जित्ने तिनले आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *