द्वारे सरकार अभियानमार्फत् राज्यवासीले मनग्गे लाभ प्राप्त गरिरहेको छ : एलबी राई

मिरिक : तृणमूल कांग्रेस सरकारले राज्यवासीको निम्ति उपलब्ध गराएको सेवा सुविधाहरूबाट राज्यवासीले मनग्गे लाभ प्राप्त गरिरहेको जानकारी दिँदै आज हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले पत्रकार सम्मेलन डाकेर द्वारे सरकार अभियानबाट प्राप्त सफलता र उपलब्धिमाथि प्रकाश पारे। तिनले स्वस्थ्य साथी, कृषिबन्धु योजना, जातिगत प्रमाण पत्र लगायत रुपाश्रीकन्याश्री, चोखेर आलो, परे समाधान आदिमाथि प्रकाश पार्दै स्वास्थ्य साथी योजनामा कुनै प्रकारको भेदभाव नगरेको बताए। द्वारे सरकार अभियान राज्यमा 2 करोड मानिसहरूसम्म पुगिसकेको जसमा 62 लाख मानिसले लाभ प्राप्त गरिसकेको साथै उक्त अभियानमार्फत् 10 लाख मानिसले जातिगत प्रमाण पत्र प्राप्त गरिसकेको तिनले बताए। यसको साथै कृषि बन्धु योजनाबाट 3 लाख कृषकहरूले लाभ प्राप्त गरिरहेको बताउँदै तेस्रो चरणको द्वारे सरकार अभियानसम्मको आँकाडाले जनमुखी योजनाको सफलतालाई देखाउँछ भनी बताए। चौथो चरणको शिविर समाप्त भएपछि मोठ विवरण आउने अनि विवरणलाई सार्वजनिक गरिने तिनले बताए। मिरिक लगायत पहाडमा स्वास्थ्य साथी स्मार्ट कार्ड वितरण शुरू भएको जानकारी दिँदै तिनले स्मार्टकार्ड लिन सम्बन्धित स्थानमा जाने मानिसहरूसित अपील पनि गरे। तिनले द्वारे सरकार अभियानलाई सफल बनाउन अनि जनतालाई सुविधा उपलब्ध गराउन नगरपालिका प्रशासनका कर्मचारीहरू, महकुमा र खण्ड विकास कार्यालयका कर्मचारीहरू, पञ्चायतका कर्मचारीहरू लगायत स्वयंसेवीहरूको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबै कर्मचारीहरूप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *