फुलबारीको अपहरण काण्डमा अपहरण भएको व्यक्ति नै मुख्य आरोपी प्रमाणित

सिलगढी:  फुलबारी अपहरण मामिलाको मुख्य आरोपी नै स्वयम् अपहरणकर्ता रहेको कुरो पुलिसले सोधखोज अवधि पत्तो लगाएको छ। स्मरण रहोस्, रेडियन्ट क्यास म्यानेजमेन्ट सर्भिसमा कार्यरत परितोष राय प्रतिदिन झैँ गत मङ्गलबार विभिन्न कम्पनीबाट 11 लाख 5 हजार रुपियाँ संग्रह गरेर ब्याङ्कमा जम्मा गर्नको लागि फुलबारीबाट सिलगढीतर्फ आइरहेको समय कामराङ्गागढी इलाकामा केही दुष्कृतिहरूले तिनलाई अपहरण गरेको बताइएको थियो। यसपछि परितोष रायका सालो तरुण रायले यसबारे एनजेपी थानामा अभियोग दर्ता गरे। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले मालबजारको क्रान्तिबाट बेहोश अवस्थामा परितोष रायलाई उद्धार गरिएको थियो। यसको साथै पुलिसले घटनाका 3 जना आरोपी आशिस विश्वास, श्यामल राय र सञ्जय मोदकलाई राजगञ्जबाट पक्राउ गरेका थिए। अर्कोतिर, अपहरण भएका व्यक्ति परितोषलाई पुलिसले थानामा बोलाएर सोधखोज गर्दा तिनको भनाइहरू आपसमा मेल नखाएपछि पुलिसलाई तिनीमाथि शंका लागेर अझ केरकार गर्दा तिनले घटनाको सत्य कुरो स्वीकार गरे। अपहरण भएका व्यक्ति परितोष नै घटनाको मूल आरोपी रहेको साथै तिनको पूर्व योजना अनुसार नै उक्त घटना घटित भएको पुलिस सूत्रले जनाएको छ। आज आरोपीलाई जलपाईगढी अदालतमा पेश गर्नको साथै उक्त घटनामा अन्य व्यक्तिहरू पनि सामेल हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *