फूलबारीको “पथेर साथी” मा शुद्ध पिउने पानीको समस्या

राजगञ्ज: फूलबारीको “पथेर साथी” मा शुद्ध पेयजलको समस्या देखा परेको छ। विगत 2017-मा सिलगढ़ी नजिक फूलबारी बाईपासमा मानिसहरूको सुविधाको लागि “पथेर साथी”-को निर्माण गरिएको थियो। यहाँ खाना-पिनाको साथै रात्रिवासको पनि व्यवस्था रहेको छ। यसको हेरचाह गर्ने जिम्मेवारी स्थानीय स्वनिर्भर समूहका महिलाहरूलाई सुम्पेको थियो। तर यहाँ पथेर साथी-मा शुद्ध पिउने पानीको व्यवस्था छैन्। स्वनिर्भर समूहका सदस्यहरूले बताए अनुसार यहाँको पानीमा आयरनको मात्रा धेरै ज्यादा भएको कारण पानीको प्रयोग गर्न सकिँदैन। “पथेर साथी”-मा पिउने पानीको समस्याले गर्दा मानिसहरू आउन छोड़ेको बताइएको छ। यसले गर्दा स्वनिर्भर समूहका महिलाहरूले नोक्सान खप्न परिरहेका छन्। स्वनिर्भर समूहका महिलाहरूले यसबारे ग्राम पञ्चायत प्रबन्धनलाई जानकारी दिए तापनि कुनै प्रकारको पहल नगरेको तिनीहरूको भनाई रहेको छ। अर्कोतिर, ग्राम पञ्चायत प्रधान दिलीप रायले पनि फूलबारी 1 र 2 नम्बर ग्राम पञ्चायात इलाकामा पिउने पानीको समस्या रहेको बताएका छन्। पीएचईको पानी फूलबारी अनि सिलगढ़ीमा उपलब्ध रहे तापनि फूलबारी 1 र 2 नम्बर ग्राम पञ्चायत इलाकामा अझसम्म पिउने शुद्ध पानीको सुविधादेखि वञ्चित रहेको बताइएको छ। यसबारे राज्यका पर्यटन मन्त्री गौतम देवलगायत एसजेडीए-लाई पनि जानकारी दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *