फुलबारीमा दखल गरेको जमिन र दोकान तृणमूलका नेताहरूले गरिदिए फिर्ता

राजगञ्ज : विधानसभा चुनाउको परिणामको घोषणापछि फुलबारीको पूर्व धनतला इलाकामा एकजना भाजपा कार्यकर्ताको चिया दोकान बन्द गरिदिनको साथै अन्य एकजना भाजपा कार्यकर्ताको जमिन दखल गरेको तृणमूल कार्यकर्ताहरूविरुद्ध अभियोग उठेको थियो। आज तृणमूल ब्लक सभापति देवाशिष प्रामाणिक, फुलबारी 2 अञ्चल सभापति रबिउल करीम र ग्राम पञ्चायत प्रधान दिलीप राय लगायत स्थानीय तृणमूल नेताहरूले उक्त बन्द चिया दोकान लगायत दखल गरेको जमिन फिर्ता दिएको छ। तृणमूल ब्लक सभापति देवाशिष प्रामाणिकले बताएअनुसार विधानसभा चुनाउको परिणामपछि तृणमूलका केही कार्यकर्ताहरूले भुलवश एकजना भाजपा कार्यकर्ताको दोकान लगायत अन्य एकजना कार्यकर्ताको जमिन दखल गरेको थियो। यसैले आज तिनीहरूको दोकान र जमिन फिर्ता दिएको तिनले बताए। तृणमूल नेत्री ममता ब्यानर्जीले यस प्रकारको कार्यदेखि आफूहरूलाई टाढा बस्ने साथै दलीय कार्यकर्ताबीच शान्ति बनाइ राख्ने निर्देश दिएकोले गर्दा नै आज उक्त पहल गरिएको हो। अर्कोतिर, उक्त चिया दोकानका मालिक हराधन सरकारले भने, तृणमूलको झण्डा लगाएर मेरो दोकान बन्द गरिदिएको थियो भने आज तृणमूल ब्लक सभापति आएर दोकान पुनः खोलिदिएको छ। यसैगरी, जमिन मालिक महादेव कुमार रायले बताएअनुसार लगभग 4 कठ्ठा जमिन तृणमूलका कार्यकर्ताहरूले दखल गरेको थियो भने आज तृणमूलकै नेताहरूले उक्त जमिन आफूलाई पुनः फिर्ता दिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *