फुलबारीमा गृहिणीसित कुटपीट तथा लुटपाट

सिलगढी : सिलगढीको फुलबारीमा एउटी गृहिणीलाई कुटपीट गरेपछि चोरी गरेको घटना प्रकाशमा आएको छ। यसबाहेक अन्य 5 वटा घरमा पनि चोरी गर्ने प्रयास गरेको बताइएको छ। उक्त घटना गत अबेर राति फुलबारी 2 नम्बर ग्राम पञ्चायत इलाकामा घटेको हो। दुष्कृतिहरूले राजीव नगर, फुलबारी सुपर मार्केट, गठमाबारी इलाकाको केही घरमा चोरी गर्ने प्रयास गरेको थियो। प्राप्त जानकारी अनुसार फुलबारीको राजीव नगर इलाका निवासी 60 वर्षीय इवारानी मण्डलको घरमा चोरीको घटना घटेको छ। तीन तले घरको दोस्रो तल्लामा तिनको लोग्ने मनि मोहन मण्डल र तिनी भिन्ना-भिन्नै कोठामा सुतेका थिए। त्यस समय केही दुष्कृतिहरूले दोस्रो तल्ला पसेर कोठाको दैलो भत्काएर कोठाभित्र प्रवेश गरेपछि इवारानी मण्डललाई कुटपीट गर्नको साथै नगद रुपियाँ सहित सुनको केही बहुमूल्य गर-गहना चोरी गरेको बताइएको छ। यसको साथै तिनले लगाएको गर-गहना समेत दुष्कृतिहरूले खोसेर चम्पट कसे। दुष्कृतिहरू घरबाट निस्केपछि तिनी चिच्याउन थालिन्। तिनको चिच्याएको आवास सुनेर छिमेकीहरू घटनास्थलमा पुगेका थिए। अर्कोतिर, ती दुष्कृतिहरूले राजीव नगरको अझ एउटा घर, गठमाबारी, सुपर मार्केट इलाकामा चोरी गर्ने प्रयास गरेको बताइएको छ। तथापि, यी घरहरूबाट केही चोरी नगरे तापनि घरको सबै सर-समानहरू छरपस्ट पारेर दुष्कृतिहरू त्यहाँबाट चम्पट कसे। एकै रातमा यस प्रकारको चोरीको घटनाले गर्दा इलाकाका मानिसहरू आतङ्कित बनेका छन्। आज बिहान घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर इलाकावासीसित कुराकानी गर्नको साथै इलाकाको सीसीटीभी क्यामाराको फुटेज हासिल गर्ने प्रयास गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *