गेल खड्का धुराबाट तीनवटा समाज गोजमुमो विनय खेमामा सामेल

गेल:  गेल चियाबारी अन्तर्गत खड्का धुरा गाउँको तीनवटा समाजका सम्पूर्ण परिवार गोजमुमो विनय खेमामा सामेल भएको छ। खड्का धुरा गाउँको खेल मैदानमा समाजका प्रतिनिधिहरूले एउटा समर्थन सभाको आयोजना गरेर उक्त गाउँका 3 वटा समाजले विनय खेमालाई समर्थन जनाएको छ। शिक्षक भाष्कर छेत्रीले सञ्चालन गरेको समर्थन सभालाई युवा मोर्चा केन्द्रीय समिति सदस्य शरण छेत्री, समष्टि सचिव रोजल राई, विज्ञेन मिश्र आदिले सम्बोधन गरे। सभाबीच तीनवटा समाजले सामूहिक रूपमा एउटा सार्वजनिक भवनको निर्माणार्थ आवेदन पत्र सभाको सभापति केबी मङ्ग्रातीको बाहुलीबाट समष्टि अध्यक्ष समक्ष पेश गरे। सभाबीच समष्टि अध्यक्ष लगायत समष्टि नेतृत्वहरूले समाजका प्रतिनिधिहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। सभालाई सम्बोधन गर्दै समष्टि अध्यक्ष डेण्डुप पाखरीनले भने, “म यहाँ यथार्थको कुरा गर्न आएको हुँ। म हुने कुरा मात्र गर्छु। नहुने कुरा गर्दिन्। म ढाँटेर काम गर्दिन्। हामी चै वानबाट टु भएको हो। हामी पास भएका हौं। हामी फेल भएर वानबाट एलकेजी भएको होइनौं। त्यसैले हामी काम गर्न चाहन्छौं। काम गर्नेलाई सबैले सहयोग गर्नुपर्छ। हामीलाई पनि एकपल्ट मौका दिनुहोस्। हामी नयाँ सोंच र नयाँ विचारको सिद्धान्तले पहाडमा परिवर्तन ल्याउन चाहान्छौं। तपाईहरू सबैको सहयोग चाहिन्छ। आज तपाईहरूले यसरी तीनवटा समाज मिलेर नयाँ सोंच र नयाँ विचारलाई गर्नु भएकोमा म तपाईहरूलाई हृदयबाटै स्वागत गर्न चाहन्छु। तपाईहरूको समाजले सोचेको कुरालाई म पूर्ण सहयोग गर्नेछु। अघिका नेतृत्वहरूले यहाँका बेरोजगार भाइहरूमाथि राजनीति गरे। यहाँका कुनै भाइबहिनीले काम पाएन। मेरो समयमा सम्पूर्ण जनतालाई न्याय दिन चाहन्छु।” यसको साथै तिनले तीनवटा समाजलाई प्रति समाज 50 वटा चौकी प्रदान गरिने घोषणा गरे। पूर्व शिक्षक केबी मङ्ग्रातीको अध्यक्षतामा सम्पन्न समर्थन सभामा समष्टि अध्यक्ष डेण्डुप पाखरीन मुख्य अतिथिको रूपमा उपस्थित थिए भने उपाध्यक्ष दुर्गा छेत्री, युवा मोर्चा सभापति सुरेश गुरुङ, सचिव रोजल राई, युवा मोर्चा केन्द्रीय समिति सहसचिव अतीत गुरुङ, खरसाङ महकुमा समितिका युवा मोर्चा महासचिव विज्ञेन मिश्र, मङ्पु-लाब्दा समष्टिका युवा मोर्चा सभापति दिव्य बम्जन लगायत, शरण छेत्री, शिक्षक सीके छेत्री आदि विशिष्ट अतिथिको रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *