गेलमा डा. लक्खीदेवी सुन्दास मार्गको निर्माण कार्य शुरू

टिस्टा भेल्ली : गोजमुमो तकदाह टिस्टाभेल्ली समष्टि अध्यक्ष डेण्डुप पाखरीनद्वारा गत महिना शिलान्यास गरेर जिङलाम चियाबारीको डाकवाला धूरा गाउँ जाने डा. लक्खीदेवी सुन्दास मार्गको निर्माण कार्य शुरू गरिएको छ। भारतीय नेपाली साहित्यका अकादमी पुरस्कार प्रापक नारी साहित्यकार डा. लक्खीदेवी सुन्दासको नाममा उक्त सडक मार्गको नामकरण समष्टि अध्यक्ष डेण्डुप पाखरीनले शिलान्यास समारोहबीच उद्घोषणा गरेका थिए। उक्त डा.लक्खीदेवी सुन्दास मार्गको हिजदेखि निर्माण कार्य युद्ध स्तरमा आरम्भ भयो। ठेकेदार दिलबहादुर गुरुङको नेतृत्वमा आरम्भ भएको निर्माण कार्यमा गेल चियाबारीको प्रबन्ध पक्षबाट मुख्य चौकीदार मणि तामाङ, उपचौकीदार बुद्ध थापा, डेग चौकीदार भीम थापा, श्रमिक संगठनका गेल शाखा सभापति ऐसेम सुब्बा, तकदाह अभियान्ता विभागका श्याम छेत्री आदि बिशिष्ट अतिथिको रूपमा उपस्थित थिए। मुख्य चौकीदार मणि तामाङ अनि श्रमिक संगठनका शाखा सभापति ऐसेमको बाहुलीबाट भूमि पूजन गरेर निर्माण कार्यको शुरू गरियो। गेल चियाबारी अधिनस्थ रहेको उक्त डा. सुन्दास सडक मार्गको निर्माणार्थको निम्ति गेल चियाबारी पक्षबाट अनुमति प्रदान गरिदिएकोमा गाउँवासीको पक्षबाट दिलकस विद्याभुषण तामाङ अनि जीवन तामाङले गेल चियाबारीको वर्तमान प्रमुख प्रबन्धक नरेन्द्र प्रतापसिंह, फिल्ड ऐसिस्टेण्ड गिरीनाथ शर्मा लगायत गेल श्रमिक संगठन शाखा सभापति, सचिव अनि सम्पूर्ण चौकीदारहरू प्रति आभार व्यक्त गरेका छन्। त्यस अतिरिक्त गाउँवासीले जीटीए चेयरम्यान अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ, समष्टि अध्यक्ष डेण्डुप पाखरीनसहित समष्टिका सबैजना पदाधिकारीगण प्रति गाउँवासीको युगौंको सपनालाई नयाँ सोंच र नयाँ बिचारले साकार गरिदिएकोमा आभार व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *