गजलडोबामा व्यवसायी र पुलिसलाई कुटपीट : आरोपीहरू पक्रिनुपर्ने मागमा पथ अवरोध

राजगञ्ज : गजलडोबामा व्यवसायी र पुलिसलाई कुटपीट गरेको घटनाले इलाकामा तनाउको माहौल सृजना भयो। प्राप्त जानकारीअनुसार हिजो साँझ गजलडोबामा व्यवसायी र पुलिसहरूलाई कुटपीट गरेको केही युवकहरूविरुद्ध अभियोग उठेको छ। यसको साथै ती युवकहरूले आग्नेयास्त्रको साथमा इलाकामा हमला गरेको बताइएको छ। उक्त आरोपी युवकहरूलाई पक्राउ गर्नको साथै क्षतिपूर्तिको माग गर्दै आज दिउँसो व्यवसायी लगायत स्थानीय मानिसहरूले आमबाड़ी-गजलडोबा राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। लगभग 2 घण्टासम्म पथ अवरोधपछि पुलिसको उचित आश्वासन पाएर तिनीहरूले उक्त पथ अवरोध हटाए। व्यवसायीहरूले बताएअनुसार 5-6 जना युवक गजलडोबा घुम्न आएका थिए। यस अवधि एउटा दोकानमा चिया र भोजन खाएपछि कुनै विषयलाई लिएर तिनीहरूको दोकानेसित विवाद शुरू भयो। यसपछि त्यहाँ उपस्थित पुलिसले तिनीहरूको विवाद साम्य पार्ने प्रयास गर्दा ती युवकहरूले उल्टै पुलिससित पनि विवाद शुरू गर्नको साथै पुलिसलाई कुटपीट समेत गरेको आरोप रहेको छ। पुलिसले उक्त मामिलाको समाधान गर्ने प्रयास गरिरहेको समय लगभग आधा घण्टापछि धेरैजना मानिसहरू धनु-काँड र आग्नेयास्त्रको साथमा आएर केही दोकानहरूमा लुटपाट, तोडफोड गर्नको साथै व्यवसायीहरूलाई कुटपीट गरेको बताइएको छ। उक्त हमलाको समय ती मानिसहरूले आफूहरू तृणमूलको एससी, एसटी, ओबीसी सेलका जलपाईगढी जिल्ला अध्यक्ष कृष्ण दासको अनुयायी बताउँदै धम्की समेत दिएको आरोप रहेको छ। यसको साथै तिनीहरूले दुई राउण्ड गोली चलाएपछि व्यवसायीहरूले आफ्नो ज्यान बचाउन भाग्न बाँध्य बनेको व्यवसायीहरूको आरोप रहेको छ। सांसद डा. जयन्त रायले बताएअनुसार वाहनहरूमा सवार भएर आएका मानिसहरूले गजलडोबामा हमला गरे तापनि हालसम्म पुलिसले तिनीहरूमध्ये कसैलाई पनि पक्राउ गरेको छैन। यसले गर्दा राज्यमा प्रशासन र पुलिसको कुनै अस्तित्व नरहेको प्रतीत हुँदछ।  तिनले अझ भने, व्यवसायीहरूले लगाएको आरोपअनुसार तृणमूल नेता कृष्ण दासका समर्थकहरूले उक्त हमला गरेको हो। मैले पुलिसलाई यसबारे आवश्यक कार्वाही गर्ने माग पनि गरे तर यसको कुनै प्रकारको कार्वाही भएन। यदि 24 घण्टाको अवधिमा पनि आरोपीहरूलाई पक्राउ नगरे पार्टीको तर्फबाट बृहद आन्दोलन गरिनेछ। अर्कोतिर, सूत्र अनुसार हालसम्म पुलिसले उक्त घटनामा संलग्न रहेको आशंकामा दुईजना युवकलाई हिरासतमा लिएको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *