गाँधी जयन्तीको अवसरमा खरसाङमा पर्यावरण संरक्षणबारे ‘बस अनि चित्र बनाऊ’ प्रतियोगिताको आयोजना

खरसाङ (निसं): गाँधी जयन्तीको अवसरमा पर्यावरण संरक्षणबारे चित्रकला प्रतियोगिताको आयोजना गरियो। आज राष्ट्रपिता महात्मा गाँधीको जन्म जयन्तीको अवसरमा धरै ठाउँका गाउँ-घरमा सफाई अभियान चलाएर पालन गरियो। यता खरसाङ नगरपालिका क्षेत्रको 7 नम्बर वार्डमा लोअर शेर्पा बस्ती ग्राम सुधार समितिले बालबालिकाहरूको लागि बस अनि चित्र बनाऊप्रतियोगिताको आयोजना गरेर महात्मा गाँधीको जन्मजयन्ती पालन गर्यो। बालबालिकाहरूलाई माया गर्ने र प्रमुखता दिने महात्मा गाँधीको जन्म जयन्तीको अवसरमा आयोजित यस चित्रकला प्रतियोगिताको उद्देश्य बालबालिकाहरूको प्रतिभालाई निखार्न साथै विचारलाई विकसित गराउनु रहेको थियो। चित्रकलाकै माध्यमबाट जल्दोबल्दो वैश्विक समस्या पर्यावरण संरक्षणबारेमा जनजागरण फैलाउने मूल उद्देश्यले आयोजित यस चित्रकला प्रतियोगिताको थीम सेभ इन्भायरोनमेन्ट थियो। यसमा चित्र बनाउनका लागि एक घण्टाको समय दिएको थियो। समितिका अध्यक्ष युएस बम्जनको अध्यक्षतामा सम्पन्न उक्त चित्रकला प्रतियोगिता कार्यक्रममा वरिष्ठ नागरिक एचएच बस्नेत मुख्य अतिथिक रूपमा उपस्थित थिए।


प्रतियोगिताको निर्णायक मण्डलमा चित्रकार कल्याणी प्रधान र सञ्जय प्रधान रहेका थिए। प्रतियोगितामा 33 जना बाल चित्रकारहरूले भाग लिएका थिए। दुई वर्गमा आयोजित गरिएको उक्त प्रतियोगितामा कक्षा आठ र नौ-को लागि सिनियर डिभिजन अनि कक्षा पाँच, छह र सातको लागि जुनियर डिभिजन राखिएको थियो। सिनियर डिभिजनमा प्रथम युक्ति छेत्री, दोस्रो प्राञ्जल सुन्दास र नर्गिश बानो तेस्रो भइन्। जुनियर डिभिजनमा प्रथम छिजेन लामा, दोस्रो सुमी प्रधान र ईशा लामा तेस्रो भइन्। यी बाल चित्रकारहरूलाई मुख्य अतिथि एचएस बस्नेतको बाहुलीबाट मेडल, पुरस्कार र प्रमाणपत्र प्रदान गरियो भने अन्य सहभागी बाल चित्रकारहरूलाई पनि पुरस्कार र प्रमाण पत्र प्रदान गरियो। यस अवसरमा मुख्य अतिथि एचएस बस्नेतले भने, ‘नानीहरूमा लुकेको ज्ञान कसैले लुकाउन सक्दैन। पढाईको साथमा अन्य ज्ञानका कुराहरू बुझाउन आवश्यक छ।तिनले अनावश्यक रूपमा मोबाइल फोन प्रयोग गर्नु नहुने बारेमा बालबालिकाहरूलाई बुझाए। महात्मा गाँधीको बारेमा बताउँदै तिनको उपदेशहरूलाई अनुसरण गर्नुपर्ने एचएस बस्नेतले बताए। मण्डला चित्रकार कल्याणी प्रधानले चित्रकला र यसको व्यापकता बारेमा बाल बालिकाहरूलाई बताइन्। समितिका कोषाध्यक्ष प्रीतम छेत्रीले शुरु गरेको कार्यक्रममा समितिका सचिव किशोर थापा साथै समितिका पदाधिकारीहरू, सदस्यहरू र अभिभावकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *