गङ्गाप्रसाद प्रधानले लगाएको गुण सबै तहबाट गाउनु पर्दछ: डा. छत्र सुब्बा पावल

खरसाङ : खरसाङको सिटोङमा मुख्यालय रहेको अल सिलोआम मण्डलीहरूको जुम सेवामा पादरी गङ्गाप्रसाद प्रधानबारे प्रमुख स्रोत वक्ता कालेबुङ निवासी रेभ. डा. छत्र सुब्बा पावलले जानकारी गराए। तिनले विश्वासीहरू, मण्डलीहरू अनि सबै समाजले पाद्री गङ्गा प्रसादलाई किन सम्झनु पर्दो रहेछ भन्ने बारेमा पावर पोइन्टको माध्यमद्वारा विस्तृत जानकारी दिए। कार्यक्रमको प्रारम्भमा नै रेभ डा. छत्र सुब्बा पावलद्वारा रचना गरिएको, राम विष्ट तिमोथीद्वारा संगीत भरिएको साथै संयोजक पा. दिशोन र युवा झुण्डद्वारा ‘कति सुन्दर दिन आयो गङ्गा तिमीलाई सम्झने’ भन्ने विशेष गीत प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई मोजेस सन्यासीले सञ्चालन गरेका थिए। मंग्पू सिलोआमले स्तुति प्रशंसा सकेपछि पाद्रीलाई किन सम्झिनेबारे बाइबलबाट हामी कस्तो सल्लाह पाउँदछौं भनेर बाइबलको पदहरू पठन गरे। यसबाट वक्ता रेभ डा. छत्र सुब्बा पावलले तीन मुख्य बुँदाहरू ‘तिमीहरूका अगुवाहरूलाई सम्झ’, ‘त्यही किसिमको प्रयत्न देखाओ,’ र ‘देखा-सिकी गर्ने होऔ” भन्दै आजको सन्द्रर्भमा बाइबलको यो पदलाई यसरी सर्लक्क बुझ्न सकिन्छ भन्दै तिमीहरूका अग्रगामी अगुवा पादरी गङ्गालाई सम्झ, तिनले झैं असल काम गर्ने प्रयत्न गर अनि तिनको देखा-सिकी गर्ने गर भनी बताए । तिनले देखा-सिकी गर्नलाई तिनीबारे विस्तृत र गहिरो जानकारी पाउनु पर्यो जसको निम्ति नै जयन्ती, स्मरण दिवस अनि तिनीबारे पठन-पाठन र चर्चा-परिचर्चा जारी राख्नु पर्दछ भनी बताए । सुब्बाले पादरी गङ्गाप्रसाद प्रधानले लगाउनु भएको गुण सबै तहबाट गाइनुपर्दछ, जय-जयकार गरिनुपर्छ जसलाई जयन्ती भन्ने चलन छ साथै तिनले पाउनु पर्ने उचित आदर र सम्मान पनि सबैले दिनुपर्दछ भनी बताए। तिनले हिँड़दैछ पाइला मेट्दैछ’ जस्ताहरू हामी नबनौं, तर व्यक्ति, मण्डली र समाजलाई झक्झकाउन सक्ने पादरी गंगाप्रसाद प्रधान जस्ता वरिष्ठ व्यक्तित्वका जयन्ती र सबै प्रकारका स्मरण दिवसहरू मनाउँदै जाऔं भन्दै तिनको बारेमा खोजी, अनुसन्धान, लेखन, वाचन, गायन, जे-जे पनि गरिनुपर्छ गर्दै जाऔं साथै प्राज्ञिक, सामाजिक र राजनैतिक स्तरमा पनि गर्नुपर्ने जति गर्दै जाऔं भनी बताए। उनले पादरी गङ्गामाथि शोधकार्य गर्नुहुने र रचनाहरू लेखी प्रकाशित गर्नुहुने कतिपय विद्वान र विशिष्ट व्यक्तिहरूलाई साथै जयन्तीहरू आयोजना गर्नुहुने र अरू विभिन्न ढंगले योगदान पुर्याउनेहरूलाई पनि सम्झना गरे। अन्त्यमा सिनियर पास्टर रेभ.पीडी भोग्मूको आशिर्वचनद्वारा कार्यक्रम सकिएको घोषणा गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *