गायक तथा संगीतकार गणेश कुमार घिसिङलाई विभागबाट सम्मान सहित विदाई

खरसाङ (निसं) : गायक तथा सङ्गीतकार गणेश कुमार घिसिङलाई गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको सूचना अनि सांस्कृतिक विभागद्वारा खरसाङको गिद्धे पहाडस्थित कार्यालयमा एउटा कार्यक्रमबीच विदाई दिइयो। सन् 2002 सालदेखि सूचना अनि सांस्कृतिक विभागमा एकजना सङ्गीतकारको रूपमा कार्यरत गायक, सङ्गीतकार गणेश कुमार घिसिङलाई विभागीय रूपमा सम्मान सहित विदाई दिइयो। उक्त विदाई समारोहमा सूचना अनि सांस्कृतिक विभागका सह निर्देशक भुपेन्द्रकान्त घिसिङ लगायत अन्य उपस्थित थिए। सबिना गिरीले सञ्चालन गरेको कार्यक्रममा विभागको कलाकारहरूले गणेश कुमार घिसिङकै शब्द र सङ्गीतमा रहेको गीत प्रस्तुत गरे। यस अवसरमा गणेश कुमार घिसिङलाई सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट टोपी पहिराएर, दोसल्ला ओढाएर, उपहार प्रदान गरी सम्मान जनाइयो। यसै कार्यक्रममा सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङको पक्षबाट पनि तिनलाई सम्मान जनाइयो। यस विभागको सह निर्देशक भुपेन्द्रकान्त घिसिङले गणेश कुमार घिसिङको शब्दमा रहेको गीत सुनेर अवाक बनेको बताउँदै यस्तो कलाकारलाई हामीले चिन्न सकेनौँ रहेछौं र यस्ता कलाकारलाई जिउँदो राख्न हो भने तिनलाई छोड्नु हुन्न् अनि तिनको गीतहरूलाई समेटेर एल्बम प्रकाशित गर्नुपर्ने साथै कुनै कार्यक्रममा तिनको एउटा गीत चाहिँ अनिवार्य रूपमा गाउनु पर्ने कुरालाई प्राथमिकता दिए। तिनले गणेश कुमार घिसिङको प्रत्येक कृतिलाई संरक्षण र संवर्द्धन गरिनु पर्ने सुझाउ पनि दिए। विदाई कार्यक्रमलाई सम्बोधन गर्दै गणेश कुमार घिसिङले भने, कार्यालयबाट विदा लिए तापनि समय पाएको बेलामा संगीत सिकाउन अवश्य आउने वचन दिए। आफू घरमा बसरे पनि गीतहरू लेखेर विभागमा पठाउने वचन दिँदै घिसिङले सदैव विभागलाई साथ र सहयोग दिने वचन दिए। कार्यक्रममा जीटीए सूचना अनि सांस्कृतिक विभाग दार्जिलिङका मुख्यालय गोर्खा रङ्ग मञ्च भवनबाट प्रबन्धक दिपक गहतराज पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *