घना कुइरोको कारण भयानक दुर्घटना, बाबु-छोराको मृत्यु

राजगञ्ज (निसं): घना कुइरो लागेको कारणले गर्दा भएको भयानक दुर्घटनामा बाबु-छोराको मृत्यु भएको छ। यसको साथै उक्त घटनामा एकजना महिला गम्भीर रूपमा घाइते भएको छ। यो घटना गत राति सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्ग अन्तर्गत दसदरगा इलाकामा भएको हो।  दुर्घटनामा प्राण गुमाउनेहरूमा दीपक दास (30) र धीमान दास (8) सामेल छन्। प्राप्त जानकारी अनुसार शुक्रवार राति जलपाईगढीको मोहित नगर निवासी दीपक दास अपनी पत्नी अनिमा दास र छोरा धीमानसित स्कूटीमा सवार भएर दसदरगा गइरहेको थिए। घना कुइरोले गर्दा विपरीत दिशाबाट आइरहेको लरीले स्कूटी नदेखेपछि सोझै स्कूटीसित ठोक्कियो। उक्त घटनामा स्कूटीमा चढेका सबैजना गम्भीर रूपले घाइते भए। यसपछि स्थानीय मानिसहरूले घाइतेहरूलाई उद्दार गरेर जलपाईगढी सुपर स्पेशियलिटी अस्पतालमा पुऱ्याए, जहाँ चिकित्सकहरूले बाबु-छोरालाई मृत घोषित गरिदिए। यसैगरी, घाइते महिलाको गम्भीर स्थितिलाई हेरेर सिलगढीको एउटा निजी अस्पतालमा रेफर गरिदिए। अर्कोतिर, घटना पछि हत्यारा लरी घटनास्थलबाट चम्पट कसेको बताइएको छ।


उक्त घटना पछि राष्ट्रीय राजमार्गमा सिग्नल लगाइनु पर्ने माग गर्दै स्थानीय मानिसहरूले आज राष्ट्रीय राजमार्ग अवरोध गरेर विरोध प्रदर्शन गरे। यसपछि घटनाको खबर पाउन साथ जलपाईगढी कोतवाली थाना पुलिस घटनास्थलमा पुगेर स्थितिलाई सामान्य गरिदिए पछि पुन: वाहनहरूको चलाचल शुरू भएको छ। उक्त घटनाले जलपाईगढीको मोहित नगर इलाकामा शोकको लहर छाएको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *