घर तोडफोड, इलाकाका महिलाहरूलाई कुटपीट गरेको आरोप, इलाकावासीहरूद्वारा पञ्चायत प्रधानलाई घेरेर विक्षोभ प्रदर्शन

सिलगढी : घर तोडफोड, इलाकाका महिलाहरूलाई कुटपीट गरेको आरोप लगाउँदै दोषीहरू पक्राउ गरिनुपर्ने मागमा आज फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने हरिपुर निचपाडाका मानिसहरूले इलाकाका प्रधानलाई घेरेर विक्षोभ प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार गत शनिबार होलीको दिन स्थानीय केही युवकहरूले निचपाडा निवासी एउटा परिवारमाथि हमला गरेको बताइएको छ। त्यस समय इलाकाका केही मानिसहरू उक्त परिवारको सहयोगको लागि अघि आए तापनि ती युवकहरूले इलाकाको केही घरहरू तोडफोड गर्नको साथै महिलाहरूलाई कुटपीट गरेको आरोप रहेको छ। उक्त घटनापछि 6 जना विरुद्ध थानामा लिखित अभियोग दर्ता गरे तापनि हालसम्म ती युवकहरूलाई पक्राउ गरिएको छैन। हाल उक्त इलाकाका महिलाहरूले असुरक्षित महसुस गरिरहेका छन्। यसैले आज इलाकाका मानिसहरूले फुलबारी 1 नम्बर ग्राम पञ्चायत कार्यालयमा गएर पञ्चायत प्रधान नमिता करातीलाई घेरेर विक्षोभ प्रदर्शन गर्नको साथै आरोपीहरूलाई चाँडै पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे। यस अवसरमा पञ्चायत प्रधान नमिता करातीले भनिन्, घटनाबारे आज थाहा पाएकोले चाँडै नै आरोपीहरूलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने व्यवस्था गरिने आश्वासन पनि दिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *