घाँटीको नशा काटेको अवस्थामा शौचालयबाट महिलाको शव उद्धार

राजगञ्ज : घरको शौचालयबाट घाँटीको नशा काटेको अवस्थामा महिलाको शव उद्धार भएको छ। उक्त घटना राजगञ्जको फुलबारी 2 नम्बर ग्राम पञ्चायत अन्तर्गत चतुरागछ खटाल बस्तीमा घटेको हो। मृतक महिला 28 वर्षीय रिया विश्वासको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी लोग्ने अमियो विश्वास, रिया विश्वास र 5 वर्षको छोरा खटाल बस्तीमा बस्दै आइरहेका थिए। अमियो विश्वास पेशाले काठ मिस्त्री हुन्। काली पुजापछि अमियोको भाइ घरमा आएका थिए। यसपछि गत आइतबार दुई दाजु-भाइ आमालाई लिनको लागि नादिया गएका थिए। आज बिहान नानी रोएको आवाज सुनेर छिमेकीहरू तिनको घरमा गएपछि नानीले घरमा आमा नभेट्टाएको बताए। यसपछि छिमेकीहरूले तिनको खोजी गर्दा घरको शौचालयमा घाँटीको नशा काटेर खुनले लतपत अवस्थामा रियाको शव भेट्टाए। घटनाबारे पुलिसलाई खबर दिएपछि न्यु जलपाईगढी पुलिस, एसीपी ईस्ट सुभेन्द्र कुमार तथा ग्राम पञ्चायत प्रधान दिलीप राय घटनास्थलमा पुगे। घटनास्थलबाट शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। यस सम्बन्धमा ग्राम पञ्चायत प्रधान  दिलीप रायले भने, यो खुबै दुखद घटना हो। पुलिसले घटनाको जाँच गरिरहेकोले चाँडै नै यसको सटीक कारण थाहा लाग्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *