घाँटीमा पासो लगाइदिएर स्वास्नीको हत्या गरेको आरोप, लोग्ने पक्राउ

नक्सलबारी :  नक्सलबारीको दक्षिण रथखोलामा घाँटीमा पासो लगाइदिएर स्वास्नीको हत्या गरेको लोग्ने विरुद्ध अभियोग उठेको छ। मृतक महिला सरस्वती रायको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 5 वर्षअघि श्यामल राय र सरस्वती रायले प्रेम विवाह गरेका थिए भने बिहेपछि सरस्वतीमाथि मानसिक तथा शारीरिक अत्याचार गरिरहेको लोग्ने तथा तिनका परिवारविरुद्ध आरोप रहेको छ। यसपछि हिजो राति सरस्वतीलाई कुटपीट गर्नको साथै लोग्नेले तिनको घाँटीमा पासो लगाइदिएर हत्या गरिदिएको बताइएको छ। उक्त घटनाले इलाकामा उत्तेजनाको माहौल देखापर्यो। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर आरोपी लोग्नेलाई पक्राउ गर्नको साथै परिवारका सदस्यहरूलाई हिरासतमा लिएको छ। पुलिसले आज मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनाको आरोपीलाई कठोर सजाय दिइनुपर्ने मृतकको परिवारका सदस्यहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *