घुम जोरबङ्ग्लो कलेजको समस्यालाई लिएर राज्यपाललाई भेटे विधायक बीपी बजगाईले

खरसाङ  : घुम जोरबङ्ग्लो कलेज सम्बन्धमा बङ्गालको राज्यपालसित खरसाङका भाजपा विधायक बीपी बजगाईले आज कोलकोतामा भेट गरे। खरसाङका विधायक बीपी बजगाईले कोलकोतास्थित राज भवनमा बङ्गालका राज्यपाल जगदीप धनखडसित भेट गरी सरकारी मान्यताको मागमा घुम जोरबङ्ग्लो कलेजमा चलिरहेको पेन डाउन हड़ताल र हाल चलिरहेको अनशन विषयमा अवगत गराए। राज्यपालले विधायकको कुरालाई गम्भीरतापूर्वक लिएको पनि तिनले बताए। खरसाङका विधायक बीपी बजगाईले आज एउटा विज्ञप्ति जारी गरेर घुम जोरबङ्ग्लो कलेजका स्टाफ वेलफेयर एसोसिएशनको सदस्यहरू विगत 29 अप्रेल 2022 देखि पेन डाउन हड़ताल र गत 6 मईदेखि रिले अनशनमा बसिरहेको जानकारी गराए। तिनले विज्ञप्तिमा भने अनुसार अनशनमा राखिएको मुख्य विषय घुम जोरबङ्ग्लो कलेजलाई युजीसीको तहत पूर्ण कलेजको दर्जा दिनु पर्ने अनि अल्प मियादी विषयको रूपमा जबसम्म पूर्ण महाविद्यालयको दर्जा पाउँदैन तबसम्म गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कुनै पनि प्रबन्धनमा सामेल गर्ने माग रहेको छ भनी बताए। तिनले विज्ञप्तिमा भने अनुसार घुम जोरबङ्ग्लो कलेज विगत 18 वर्षदेखि शिक्षा क्षेत्रमा सेवा दिँदै आइरहेको छ र यस महाविद्यालयमा नेपाल, भूटान, बङ्ग्लादेश आदि देशहरूबाट पनि विद्यार्थीहरू पढ्न आउने गरेको बताए। उक्त कलेजमा असल शिक्षा दिए तापनि यहाँ शिक्षणकर्मी र अशिक्षणकर्मीहरूको लागि कुनै मापदण्ड छैन भन्दै यस विषयमा स्थानीय प्रशासन मुक दर्शक भएर बसेको पनि तिनले विज्ञप्तिमा जनाएका छन्। यी विषम परिस्थिहरू भए तापनि सन् 2004 देखि आफ्नो स्थापनाकालदेखि नै सफलतापूर्वक आफै स्थापित भएको छ तर प्रबन्धन भने दयनीय अवस्थामा रहेको छ। दार्जिलिङको अन्य कलेजहरू झैँ शिक्षा क्षेत्रमा घुम जोरबङ्ग्लो कलेजको योगदान सराहनीय छ तर यो कलेज अहिले दु:खद घड़ीमा रहेको तिनले विज्ञप्तिमा जनाएका छन्। खरसाङका विधायक बीपी बजगाईले आज कोलकोतामा बङ्गालका राज्यपाल जगदिप धनखड समक्ष घुम जोरबङ्ग्लो कलेजको यी विषयहरू राखेपछि तिनले यी विषयहरूलाई गम्भीरतापूर्वक लिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *