गोजमुमो 2 खरसाङ महकुमा समिति र डीटीडीपीएलयु-को सभा सम्पन्न

खरसाङ: गोजमुमो दुई खरसाङ महकुमा समितिका पदाधिकारीगण र श्रमिक संगठन डीटीडीपीएलयु-को खरसाङ महकुमा समितिको पदाधिकारीवर्गमाझ आज खरसाङको पार्टी कार्यालयमा एउटा सभा सम्पन्न भयो। विशेष गरेर पार्टी र ट्रेड युनियनमाझ तालमेल बनाएर सांगठनिक रूपमा अघि बढ़नलाई उक्त सभा बसिएको थियो। गोजमुमो खरसाङ महकुमा समितिका सभापति अनोश थापाको अध्यक्षता र सचिव प्रणाम रसाईलीको सञ्चालनमा सम्पन्न उक्त सभामा विभिन्न विषयमा कुराकानी गर्दै पार्टीलाई कसरी मजबुत बनाउन र पार्टी र ट्रेड युनियनको कार्य क्रियाकलापहरूलाई तालमेल बनाएर अघि बढ़नलाई विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिलाई अझ दह्रिलो बनाउनलाई ट्रेड युनियनको पक्षबाट प्रतिनिधिहरू पार्टीको महकुमा समितिमा मनोनित गर्ने निर्णय गरियो र यसै निर्णय अनुसार डीटीडीपीएलयुको प्रतिनिधिहरूको रूपमा राजेश थापा र बसन्त कुलुङ राईलाई पार्टीको महकुमा समितिमा कार्यकारी सदस्यको रूपमा चयन गरियो। यसैगरी डीटीडीपीएलयुको खरसाङ महकुमा समितिका उपाध्यक्षको पदमा राजेन प्रधान, प्रवक्ता सन्तोष लामा र साबी राईलाई डीटीडीपीएलयुको खरसाङ महकुमा समितिको सदस्यको रूपमा चयन गरिएको छ। आजको सभामा गोजमुमो खरसाङ महकुमा समितिका सभापति अनोश थापा, उप सभापतिद्वय प्रमेश राई र प्रेम प्रधान, त्यसरी नै डीटीडीपीएलयुको केन्द्रीय सभापति करूणा गुरुङ, खरसाङ महकुमा समितिका सभापति सागर गुरुङ, सचिव भक्तिमान तामाङ लगायत अन्यहरू उपस्थित थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै डीटीडीपीएलयु-का खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले आज गोजमुमो र ट्रेड युनियनमाझ सांगठनिक सभा बसिएको जानकारी गराउँदै यो सभाको मुख्य उद्देश्य पार्टीमा भएको चर्चा परिचर्चाहरू साथै क्रियाकलापहरू ट्रेड युनियनसम्म आउनलाई तालमेल मिलाउन डाकिएको बताए। तिनले उक्त सभा पार्टी र यसको भ्रातृ संगठन ट्रेड युनियनको भावी योजनाहरू र सांगठनिक रूपमा तालमेल राखेर मिलेर कार्य गरी पार्टीलाई मजबुत बनाउन रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *