गोजमुमो 2 नागरी धजे समष्टिद्वारा कार्यवाहक अध्यक्ष अनित थापालाई समर्थन

दार्जिलिङ : गोजमुमो 2 नागरी धजे समष्टिका सम्पूर्ण भ्रातृ संगठनले आज पार्टीका कार्यवाहक अध्यक्ष अनित थापालाई दार्जिलिङ स्थित पार्टी कार्यालयमा आएर भेट गर्नको साथै तिनको नेतृत्वलाई समर्थन जनाए। यस अवसरमा नागरी धजे समष्टिका पार्टी समर्थकहरूसितको सभालाई सम्बोधन गर्दै अनित थापाले गोर्खा अनि पहाडको समस्या विषयमा बोल्दै भने, गोर्खाको समस्या अनि पहाडको समस्या एउटै होइन। गोर्खाको समस्या भनेको भारतभरि छरिएर बसेका गोर्खाको चिन्हारीको समस्या हो। म पनि चाहन्छु यो समस्या समाधान होस्। तर गोर्खाको समस्या दार्जिलिङ पहाड जलाएर समाधान हुँदैन।


तिनले आफ्नो राजनैतिक उद्देश्यबारे जानकारी दिँदै आफू पहाडको समस्या समाधान गर्नको निम्ति निस्केको साथै हाम्रो पहाड राम्रो पहाड बनाउनु नै तिनको मुख्य उद्देश्य रहेको बताए। तिनले भने, गोर्खाल्याण्डको नारा लगाएर म जनतालाई झुक्याउने राजनीति गर्दिनँ। तिनले गत चुनाउमा नागरी धजे समष्टिबाट राम्रो परिणाम दिएकोमा सबै नेतृत्वगण अनि समर्थकहरूलाई धन्यवाद दिए। तिनले म होइन, हामी भएर बाचौँ। राम्रो काम गर्नु गाह्रो छ तर गाह्रो काम गर्न छोड्दिनँ भनी बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *