गोजमुमो 2 पहाड़को सर्ववृहत पार्टी बनेको छ : अनित थापा

खरसाङ: बङ्गाल विधानसभा चुनाउमा मैले सोचेको थिएँ कि पहाड़मा प्र्याक्टिकल भोट हुन्छ भनेर तर दार्जिलिङ र खरसाङमा हामी विपरीत बन्यौँ। कालेबुङवासीले जुन सोच बनाए अनि कालेबुङलाई विकसित बनाएर लैजाने सोच बनाएर भोट हाले अनि सरकारसँग मिलेर काम गर्ने हाम्रो सोचलाई साकार रूप दिएर भोट हालेको आभार प्रकट गर्दछु भनी गोजमुमो महासचिव अनित थापाले बताएका छन्। तिनले खरसाङ र दार्जिलिङका हाम्रा धेरै समर्थकहरूले हाम्रो सोचलाई साथ दिए तर गणनामा हामी पछि पर्‍यौँ, हामीले यसअघि जुन कामको रफ्तारलाई अगाडी बढाएर लगिरहेका थियौँ, भिजन बनाएका थियौँ, सोच बनाएका थियौँ, त्यो यो चुनाउले केही हदसम्म साकार हुन दिएन। यस्ता सोच केवल मेरो एक्लो सोचाईले हुँदैन भन्दै बंगालमा तृणमूल कङ्ग्रेसले पूर्ण बहुमत ल्याएर चुनाउ जित्यो, तर पहाड़का मानिसहरूले भाजपाले राज्यमा सरकार गठन गर्छ भन्ने कुरा देखेर आशावादी बन्दै भाजपालाई भोट हालेको पनि हुनसक्छ, गणतन्त्रमा जनताको निर्णय नै सम्माननीय हुन्छ, त्यसर्थ म जनताको सोच र निर्णयलाई सम्मान गर्छु साथै ज-जसले आफ्नो अधिकारलाई प्रयोग गरे त्यसलाई पनि म सम्मान गर्छु। तर हामीले जसरी काम गरिरहेका थियौँ त्यसमा कहाँ चुक भयो अथवा मान्छेको भोट हाल्ने तरिका गलत भएको हो त्यसबारे म अहिलेसम्म पनि असमञ्जसमा छु। अझ खरसाङलाई लिएर अझै म कन्फ्युज छु। यहाँ मैले कहाँ चुक गरें त्यसबारे झन् म असमञ्जसमा छु तर अब हामीले अगाडी के काम गर्नुपर्छ त्यसबारे सोच्नु पर्नेछ भनी तिनले बताए।


तिनले अझि भने, “दार्जिलिङमा जस्तो प्रकारको बेरोजगारी समस्या थियो, विकासदेखि धेरै वञ्चित थियौँ, त्यसलाई लिएर सरकारसँग एउटा ठूलो रिक्स लिएर हामीले काम गरिरहेका थियौँ, त्यसले कता न कता धक्का पुग्यो जस्तो लाग्छ तर हामीले जुन नयाँ गोरेटो कोर्न भनेर निस्किएका थियौँ त्यसमा अझ अघि बढ्नेछौँ, चुनाउ आउँछ-जान्छ तर हिजोदेखि दार्जिलिङमा डिस्ट्रक्टिभ पोलिटिक्सको अन्त्य भएको छ। हामी गोर्खा जनमुक्ति मोर्चा विनय खेमा पहाड़को एक्लो सर्ववृहत पार्टी भएको छ। किनभने पहाड़को बीजेपी, जीएनएलएफ, क्रामाकपा लगायत अन्य स-सना पार्टी एक भए भने अर्कोतर्फ हिल तृणमूल कङ्ग्रेस अनि गोजमुमो बिमल खेमा एक थिए। हिल तृणमूल कङ्ग्रेसले पनि भनेका थिए कि बिमल खेमा र हामी मिल्यौँ भने विनय-अनितलाई हराउँछौँ भनेर। तर हामी एक्लो भएर चुनाउ लड्दा पनि हामी धेरै भोटको अन्तरले अघि छौँ। हामी हाम्रो काम गर्न छोड़दैनौँ, कारण जनताले हाम्रो कामलाई कदर र सम्मान गरेका छन्। हामी हिजोको तुलनामा गन्तीमा धेरै अघि छौँ। हामीलाई जनताले विश्वास गरेर अझ अघि बढाएका छन्। तर काम गर्दा सिस्टममा जानुपर्छ। सरकारलाई हाम्रो गन्ती पुगेको छैन। अब सरकारले हाम्रो निम्ति कस्तो सोच रहन्छ त्योमाथि रहन्छ। तर कालेबुङवासीले प्रुफ गरेको छ कि उनीहरूले सरकारको पक्षमा भोट गरेका छन्। कालेबुङको यो निर्णय देखेर मलाई कालेबुङप्रति अझ धेर काम गर्ने जोश पलाएको छ। हिज दश गर्दै थिएँ भने अब त्यसको डबल काम गर्ने जोश आउँछ कालेबुङको लागि किनकी कालेबुङले हाम्रो सोचको धेरै सम्मान गरेको छ, साथ दिएको छ। हो खरसाङ अनि दार्जिलिङका धेरै जनताले पनि हामीलाई साथ दिएका छन् तर कहीँ न कहीँ गन्तीमा हामी कम्ती भएका छौँ त्यसलाई हामीले मान्नैपर्छ। तर हामी पहाड़को सर्ववृहत पार्टी बनेका छौँ।”

अनित थापाले पहाड़लाई घरिघरि जलाउनु हुँदैन, अशान्ति बनाउनु हुँदैन, पहाड़लाई शान्ति र विकसित राख्नुपर्छ भन्ने सोच राखेर हामी निस्किएका थियौँ त्यसमा सफल भएका छौँ। हिजोदेखि साच्चै नै पहाड़मा डिस्ट्रक्टिभ पोलिटिक्सको अन्त्य भएको छ भनी अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *