गोजमुमो बिमल खेमाको खरसाङ विधानसभाका प्रार्थी नर्बुजी लामालाई मिरिकमा भव्य स्वागत

मिरिक: गोजमुमो बिमल खेमाका खरसाङ विधानसभा क्षेत्रका प्रार्थी नर्बुजी लामाले आज मिरिकका पार्टी समर्थकहरुसँग औपचारिक रूपमा भेटवार्ता गरे। गोजमुमो मिरिक महकुमाको तत्वावधानमा पार्टीको महकुमा कार्यालयमा आयोजित समारोहमा नर्बुजी लामालाई पार्टीका स्थानीय तहका नेताहरूसँगै समर्थकहरु तथा नारी मोर्चा, युवा मोर्चासँगै चारवटा समष्टिका प्रतिनिधिहरुले खदा माला लगाएर स्वागत जनाए। यस अवसरमा बोल्दै पार्टीको केन्द्रीय सदस्य बिनोद खालिङले बिमल गुरुङले दिएको प्रार्थीलाई बिजयी बनाउन हेतु हर सम्भव प्रयास गरिने बताए। तिनले उम्मेदवार नर्बुजी लामा विधायक बनेपछि जनतामुखी कार्यमा संलग्न रहने र यहाँका समस्याहरुको समाधानको लागि कार्य गर्ने विश्वास व्यक्त गरे। यसरी मिरिक महकुमाले आफ्नो उम्मेदवारितालाई कदर गर्दै सम्मान गरेकोमा हर्ष प्रकट गर्दै उम्मेदवार नर्बुजी लामाले मिरिकवासीले भोगिरहेका समस्याहरुको निकासको लागि पहल गरिने अनि यो चुनाउ मात्र नभएर गोर्खाहरूको लागि चुनौती रहेको बताए। यो चुनौती पार गर्न मिरिवासीले भरपुर मत दिएर सहयोग पुराउने कुरामा पनि तिनी आशावादी देखिए। आफुले सदैव समाजप्रतिको उत्तरदायित्व बोध गरेको र जातिलाई के दिन सकिन्छ भन्नेमा विश्वास गरेको बताए। यो समय हामी पिर मर्कामा छौ तर यो चुनाउको रुपमा जाति अनि मुद्दाको खातिर कार्य गर्ने अवसर भने एकपल्ट फेरि पाएका छौ, तिनले भने। लामाले बिमल गुरुङको राज्यसँग साझेदार बन्ने निर्णयलाई सही बताउँदै राजनीतिमा कहिले दश कदम अघि त, कहिले दश कदम पछि भइन्छ तर जातिको भलाई अनि उत्थानको निम्ति यो निर्णय सही रहेको तिनले बताए। तिनले आफ्नो जीतप्रति आशावादी हुँदै भने, यो चुनाउमा नर्बुजी लामाले जित्ने छ र यो जीत तमाम जातिको अनि मुद्दाको हुनेछ। आफु अध्यात्ममा रुझान राख्ने व्यक्ति भएको कारण मुद्दाको अनि जातिको स्वाभिमान, मर्यादालाई सदैव उच्च राखेर कार्य गर्ने तिनले बताए। डम्बर छेत्रीको अध्यक्षतामा सम्पन्न समारोहमा खरसाङ महकुमा अध्यक्ष प्रदिप मगर, सचिव सुरज छेत्री लगायत मिरिकका युवा नेताहरु मुकुल घिमिरे, अर्पण राई, नारी मोर्चा केन्द्रीय साङ्गठनिक सचिव ललिता गुरुङ आदिको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *