गोजमुमो बिमल खेमा सियोक गोपालधारा बुथ कमिटीको चुनावी सभा

मिरिक : गोजमुमो बिमल खेमा सियोक गोपालधारा बुथ कमिटीको  आयोजनामा आज पाँच माइल खेल मैदानमा चुनावी सभा सम्पन्न भयो। बुथ कमिटीका मुख्य संयोजक रुपेश राई अनि सह संयोजक ललित निरौला, श्रमिक संगठन डीटीडीपीएलयु केन्द्रिय समिति सदस्यको विशेष उपस्थितिमा सम्पन्न सभामा गोजमुमो दार्जिलिङ विधानसभा क्षेत्रका उम्मेद्वार पीटी ओलाको समर्थनमा बुथ कमिटी अन्तर्गत मझुवादेखि मालीधुरासम्म घरदैलो अभियानलाई तीव्रता दिइने निर्णय लिइएको गोजमुमो राङ्गभाङ्ग ग्राम पञ्चायत क्षेत्र अध्यक्ष अमित चामलिङले जानकारी दिएका छन्। क्षेत्रका पार्टी कार्यकर्ताहरूको व्यापक सहभागिता रहेको उक्त सभालाई सम्बोधन गर्दै सुके मानेभञ्ज्याङ् समष्टि मुख्य चुनाउ संयोजक समेत रहेका ललित निरौलाले भाजपालाई पन्ध्र वर्ष निःस्वार्थ रूपमा गोर्खाहरूले साथ दिए तापनि हालसम्म गोर्खाहरूको हितमा भाजपाले केही नगरेको बताउँदै यस पटकको विधानसभा चुनाउमा गोजमुमोको प्रतिस्पर्धा सिधा भाजपासँग हुने दावी गरे। गोजमुमो अध्यक्ष बिमल गुरुङ गोर्खा जातिको दीर्घकालीन माग गोर्खाल्यान्डलाई फत्ते गर्न प्रतिबद्ध रहेको तथा तिनको इमान्दारितामाथि कुनै खोट नरहेको निरौलाले बताए।


तिनले गोजमुमो दुई विनय खेमाले आफ्नो घोषणा पत्रमा पर्जापट्टाको कुरा उल्लेख गरे तापनि व्यवहारिकतामा काम गर्न नसकेको आरोप लगाउँदै अब झुटको राजनीतिदेखि टाढा बस्ने आवहान गरे। सभालाई सम्बोधन गर्दै बुथ कमिटी अध्यक्ष रुपेश राईले आगामी विधानसभा चुनाउमा गोजमुमो बिमल खेमाको दार्जिलिङ विधानसभा प्रार्थी पीटी ओला, कालेबुङका प्रार्थी डा. आरबी भुजेल र खरसाङका नर्बुजी लामाको जीत निश्चित रहेको दावै गर्दै शाखा-प्रशाखा क्षेत्रका  साधारण नागरिकहरूले बिमल गुरुङको इमान्दारिता भावना अनि सत्यतालाई बुझ्न सकेको धारणा व्यक्त गरे। यसैगरी, दार्जिलिङ तराई डुवर्स प्लान्टेसन लेबर युनियनका केन्द्रिय सदस्य सोनाम तामाङले संगठनको पक्षबाट चियाबगान श्रमिकहरूको रोजवृद्धिको निम्ति पहल गरिसकेको तथा संगठनकै पहलमा लङ्ग्भ्यु चिया बगान खोलिएको दावी गरे। श्रमिक नेता तामाङले चियाबगानका श्रमिकहरूको दैनिक हाजिरामा 26 रुपियाँ वृद्धि गर्न सक्षम बनेको तथा सिन्कोना बगानका श्रमिकहरूको निम्ति गत केही दिनअघि सिलगढीस्थित श्रम भवनमा संयुक्त श्रम आयुक्तसित बैठक गरेर वर्तमान महँगाईलाई ध्यानमा राख्दै हाजिरा वृद्धि गरिनुपर्ने माग राखिसकेको छ भने संयुक्त आयुक्तले सकारात्मक अश्वासन दिएको जानकारी गराए। आउँदो विधानसभा चुनाउपछि पुनः एकपल्ट सभा गर्ने जानकारी दिँदै चियाबगान अनि सिन्कोना बगानका सय प्रतिशत जनताले बिमल गुरुङ खेमाका उम्मेद्वारहरूलाई साथ दिने आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *