गोजमुमो दुईद्वारा खरसाङमा शहीद दिवस पालन

खरसाङ :गोर्खा जनमुक्ति मोर्चा दुईले आज खरसाङस्थित नयाँ बजारको ईगल क्र्याकमा अवस्थित शहीद वेदीमा छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति शहीद हुने वीर-वीराङ्गनाहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न एउटा कार्यक्रमको आयोजना गर्योख। सबिता कार्कीद्वारा सञ्चालित कार्यक्रमको आरम्भमा भूतपूर्व सैनिकहरूले शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै सलामी दिए भने पार्टीका केन्द्रिय समिति सदस्य लछुमन राईको बाहुलीबाट शहीद वेदीमा धुप-दीप प्रज्ज्वलन गरियो। त्यसपछि हिन्दु, बौद्ध, मुस्लिम अनि ईसाई धर्मका धर्म गुरूहरूद्वारा प्रार्थना गरियो। कार्यक्रममा उपस्थित पार्टीका प्रतिनिधिहरू, विभिन्न भातृ संगठनका प्रतिनिधिहरू, खरसाङका नगरपालिका अध्यक्ष ब्रीगेन गुरूङ, उपाध्यक्ष सुवास प्रधान लगायत नगर पार्षदहरू, पार्टीका केन्द्रिय समिति सदस्यहरू, खरसाङ महकुमा समिति सभापति अनोश थापा, सचिव प्रणाम रसाईली लगायत अन्य प्रतिनिधिहरूले शहीद वेदीमा खदा, फूल, धुप आदि चढाएर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो भने शहीदहरूको नाममा एकसय आठ दीप प्रज्ज्वलन पनि गरियो। समारोह पछि खरसाङ नगरपालिका अध्यक्ष ब्रीगेन गुरूङले विभिन्न समय, काल र परिस्थितिमा जातीय अस्मिताको निम्ति आफ्नो प्राणको आहुति दिने ती वीर शहीदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न आज यहाँ एउटा कार्यक्रमको आयोजना गरिएको बताए। तिनले हाल छताछुल्ल भएका गोर्खाहरू भविष्यमा पुन: एककृत भएर जातिको लक्ष्य अनि शहीदहरूको सपना गोर्खाल्याण्डसम्म अवश्यनै पुग्ने आशा व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *