मिरिक: मिरिक 24 नम्बर समष्टिबाट गोर्खा जनमुक्ति मोर्चाका 24 जनाले पार्टी छोडेर वरुण मोक्तानको नेतृत्वमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। खरसाङस्थित अनित थापाको बासस्थानमा तिनीहरूलाई पार्टीमा स्वागत जनाउँदै अध्यक्ष अनित थापा लगायत अन्यको बाहुलीबाट पार्टीको झन्डाहरू प्रदान गरियो। यस अवसरमा अनित थापालाई समर्थन गर्नुको कारण बताउँदै वरुण मोक्तानले भने, सङ्गठन भन्ने कुरा कुनै व्यक्तिको हुँदैन। सङ्गठन भन्ने कुरालाई सबैजना मिलेर बनाउने कुरा हो। अनित थापाले कहिले पनि म, मेरो भनेर भन्नु हुँदैन। तिनले सदैव हामी भनेर सम्बोधन गर्नु हुन्छ। यही विचार हामीलाई मन परेको हो। तिनले अझ भने, सङ्गठन चलाउन सबैको सहमति चाहिन्छ। तर गोर्खा जनमुक्ति मोर्चामा त्यो तालमेल नमिल्दा नै हामीले जनमुक्ति मोर्चा त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका हौं। स्मरण रहोस, वरुण मोक्तान गत 2007 देखि बिमल गुरुङको साथमा लागेर आन्दोलन कालमा पूर्ण सहभागी बनेका साथै तीन वर्षसम्म विस्थापित बनेर डिसम्बर 2020 –मा तिनी घर फर्केका थिए।
