गोजमुमो प्रतिनिधिहरूद्वारा मिरिक खण्ड विकास अधिकारीलाई ज्ञापन

मिरिक : गोर्खा जनमुक्ति मोर्चा मिरिक महकुमाको एउटा प्रतिनिधि टोलीले आज मिरिक खण्ड विकास अधिकारीलाई भेटेर एउटा ज्ञापन पत्र बुझाए। उक्त ज्ञापन पत्रमा गत अक्टोबर महिनामा आएको मुसलधारे पानीको कारण जे जति पनि क्षति पुगेको थियो तिनीहरुले आजसम्म पनि क्षतिपूर्तिको रूपमा कुनै प्रकारको सरकारी साहुलियत नपाएकोले ती पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गरिनु पर्ने, लामो समय अघिदेखि पञ्चायत चुनाउ नभएकोले पञ्चायत क्षेत्रहरुमा विभिन्न प्रकारको समस्याहरु रहेको र त्यहाँ कुनै प्रकारको सूविधा र सहुलियतहरु नपाएकोले झट्टै पञ्चायत चुनाउ गराएर यस्ता समस्याहरु निर्मूल पार्नु पर्ने, प्रशासनिक अधिकारी अनि पार्टी प्रतिनिधिहरु बीच तालमेल नरहेको कारण सरकार पक्षबाट जनसाधारणहरुको निम्ति मुहैया गरिने सुविधा र साहुलियत बारे जनसाधारणहरू अनभिज्ञ रहन परेको अवगत गराउँदै तिनीहरूलाई सरकार पक्षबाट पाउनु पर्ने सुविधा र साहुलियतबारे जानकारी गराउन एउटा टोली राख्न पर्ने, नगरपालिका क्षेत्रमा सबैजनाको सरकार पक्षबाट पक्का घर बनाउनु पर्ने आदि उल्लेख गरिएको छ।


प्रतिनिधि टोलीद्वारा दिएको ज्ञापन पत्रको बुँदाहरूलाई हेरेपछि खण्ड विकास अधिकारीले यी बिषयहरुमा सरकार पक्षबाट बिशेष ध्यान दिएर नगरपालिका एवम् पञ्चायत क्षेत्रहरूमा भुक्तभोगी सर्वसाधारण जनताले पाउनु पर्ने सुविधा एवम् साहुलियत तिनीहरूसम्म पुऱ्याउन निरन्तर प्रयास गरिने अनि पार्टीसँग पनि तालमेल राखेर काम गर्नको निम्ति सरकार पक्ष राजी रहेको बताए। सरकार पक्षबाट पाउने कुनै पनि सुविधा र साहुलियतबारे सर्वसाधारणसम्म जानकारी पुऱ्याउन अबउसो पार्टीका 23 नम्बर समष्टिबाट अर्पण राई र 24 नम्बर समष्टिबाट रामचन्द्र राईलाई विशेष जिम्मेवारी सुम्पिएको बताइएको छ। प्रतिनिधि टोलीमा केन्द्रीय समिति सदस्य रुपेश राई, अर्जुन राई, 23 नम्बर समष्टि अध्यक्ष राजीव राई, सचिव तपेन गुरुङ, साङ्गठनिक सचिव अर्पण राई, 24 नम्बर समष्टि सचिव रामचन्द्र राई, नारी मोर्चा सदस्यहरु चन्द्रिका गुरुङ, डोमा तामाङ उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *