कोलकाता: गोर्खा जनमुक्ति मोर्चाको प्रतिनिधि टोलीले अध्यक्ष बिमल गुरुङको नेतृत्वमा आज पश्चिम बंगालका वनमन्त्री ज्योतिप्रिया मलिकसित भेट गरेर विभिन्न विषयमा चर्चा गरे। भेट अवधि मोर्चा टोलीले वनमन्त्रीसित सेभोकदेखि रम्फूसम्मका स-साना कोइरीहरू सुचारू गर्ने आग्रह गर्दै यसो गरे हजारौँ श्रमजीवीहरूले रोजगारको अवसर पाउने कुरो बताए। मशिन लगाएर गरिने अवैद्य खनन बन्द गर्नुपर्ने अनि हातले निकालेर गर्नसकिने कार्य सुचारू गरिए धेरै मानिसहरूले रोजगारको अवसर पाउने कुरो वनमन्त्रीलाई अवगत गराए। पहाड़मा भइरहेको अवैद्य खनन र मशिनको प्रयोगमाथि प्रतिबन्ध लगाएर मेनुवल काम गर्नुपर्ने विषयमा कुराकानी भएपछि वनमन्त्रीले यसलाई सकारात्मक रूपमा लिइँदै पहल गर्ने र सेभोकदेखि रम्फूसम्मका ससाना कोइरीहरू सञ्चालन गर्ने विषयमा पनि पहल गरिने टोलीलाई वचन दिएका छन्। वनमन्त्रीसँगको भेटमा आज पहाड़मा उत्पादन गरिने ठूलो अलैँची र कुचोको खेतीबारे पनि चर्चा गरिएको बताइएको छ। कृषकहरूले आफ्नै खेतबारीमा उत्पादन गरेको अलैँची र कुचो बिक्रीमा लैजान पनि अनुमति पत्र बनाउनुपर्ने स्थिति रहेकाले धेरै उत्पादकहरूलाई असुविधा भइरहेको बारेमा पनि गोजमुमो टोलीका सदस्यहरूले मन्त्रीलाई अवगत गराए। गोजमुमो प्रतिनिधि टोलीमा अध्यक्ष बिमल गुरुङ, महासचिव रोशन गिरी, प्रकाश गुरुङ र सोनाम याखा सामेल थिए।
