कोलकाता: विभिन्न विभागका मन्त्रीहरुसँग भेट्नमा व्यस्त रहेको गोजमुमो प्रतिनिधि टोलीले आज पञ्चायत अनि ग्रामीण विकास मन्त्री पुलक रायसँग भेट गरेको छ। आजको भेटमा प्रतिनिधि टोलीले मन्त्री रायलाई विशेष गरेर ग्रामीण क्षेत्रहरुसँग जोडिएको पीएमजीएसवाई अनि आरआईडीएफ-का बाटोहरु एकदमै गुणस्तरीय हुनुपर्ने, 2001 देखि दार्जीलिङ अनि कालेबुङ जिल्लामा पञ्चायत चुनाउ नभएकोले झट्टै पञ्चायत चुनाउ गरिनुपर्ने, ठुल्ठुला ब्लकहरुको विभाजन गरिनुपर्ने अनि एनआरईजीएस योजनाको माध्यमबाट अर्किड साथै अन्य प्रजातिका फूलहरुको बिरुवाको खेती एवम् व्यवसायलाई प्रोत्साहन एवम् मान्यता दिनुपर्ने जसको निम्ति एनआरईजीएस योजनाको वार्षिक योजनामा यसलाई समावेश गरिनुपर्ने अनुरोध गरेका छन्। प्रतिनिधि टोलीको कुरा सुनेपछि मन्त्रीले पञ्चायत चुनाउ बिषयमा चाहिँ आफै नै मुख्यमन्त्रीसँग बसेर बातचित गर्ने अनि प्रतिनिधि टोलीले आज राखेको अन्य बिषयहरुमा कार्य गर्नको निम्ति भने विभागीय पक्षबाट सकारात्मक पहल गरिने आश्वासन दिएका छन्। आजको भेटमा गोजमुमो अध्यक्ष बिमल गुरुङ लगायत महासचिव रोशन गिरी, कालेबुङ जिल्ला समिति अध्यक्ष डा.आरबी भूजेल, केन्द्रीय सदस्य सोनाम याखा अनि युवा मोर्चा अध्यक्ष प्रकाश गुरुङ सामेल थिए।
