गोरामुमो-द्वारा 37औँ गोर्खाल्याण्ड जनजागरण दिवस पालन

टिस्टा भेल्ली: गोरामुमोले 37औँ गोर्खाल्याण्ड जनजागरण दिवस आज पालन गर्यो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक अध्यक्ष सुबास घिसिङले आजको दिन 22 सेप्टेम्बरमा नै समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा अवस्थित दुर्गा मन्दिरमा पुजा अर्चना गरेर गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरेपछि गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति वृहत जन अन्दोलनको शुरूवात गरेका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा पालन गर्दै आइरहेको छ। गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले टिस्टा भेल्ली सजनी डाँडामा आज पत्रकारहरूलाई सम्बोधन गर्दै भने, सुबास घिसिङ अनि तपाईँ हाम्रो सपना पुरा गर्न हामी लागिपरेका छौं। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले निरन्तर जाति र माटोको उन्मुक्तिको निम्ति कार्य गर्दै आइरहेको छ, अवश्य नै हामी लक्ष्यमा पुग्ने छौं। यसको निम्ति तपाईँ हामी पार्टीभन्दा माथि उठेर जातिको निम्ति कार्य गर्नुपर्छ।


गोरामुमो अध्यक्ष मन घिसिङले पनि गोर्खा जातिको निम्ति निरन्तर कार्य गरिरहेका छन्। गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति हामी सही मार्गमा थियौं तर सोझै गोर्खाल्याण्ड ल्याउँछु भनेर पहाडमा विपक्षी नेताहरूले जनतालाई बोरामा सुताउने कार्य गर्‍यो। गोर्खाल्याण्डको त के कुरा गरौं जीटीए जस्तो अंसवैधानिक व्यवस्था भित्र्याएर पहाडलाई लथालिङ्गै बनाएको तिनले बताए। लथालिङ्ग भएको पहाडलाई एक बनाउन गोरामुमो हाल लागिपरेको छ। तिनले भने, जीटीए सभामा गोर्खाल्याण्ड प्रस्ताव पारित गर्नु कुनै ठुलो कुरा होइन तर जीटीए सभाले बंगाल विधानसभामा प्रस्ताव पारित गर्न सक्नुपर्‍यो। बंगालको मुख्यमन्त्री र केन्द्र सरकारलाई गोर्खाल्याण्ड प्रस्ताव पारित गराउनको निम्ति पत्राचार गर्नु पर्‍यो। असंवैधानिक व्यवस्था जीटीए सभामा प्रस्ताव पारित गराउँदा केही लाभ नहुने वाई लामाले बताए। आजको कार्यक्रममा गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजे सुब्बा, उपाध्यक्ष दिनेस छेत्री, तकदाह टिस्टा भेल्ली समष्टिका अध्यक्ष सुदेश राई, गोरामुमो केन्द्रीय समिति सदस्य अमर राई, किशोर राई, लप्चु पेशोक समष्टिका अध्यक्ष छिरिङ लामा, सचिव तेन्जिङ भुटिया लगायत पार्टीको विभिन्न भातृ संगठनका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *