गोरामुमो-ले 22 सेप्टेम्बरको दिन टिस्टा भेल्लीमा गोर्खाल्याण्ड जनजागरण दिवस पालन गर्ने

टिस्टा भेल्ली (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आगामी 22 सेप्टेम्बर 2023 को दिन टिस्टा भेल्लीमा गोर्खाल्याण्ड जनजागरण दिवस भव्य रूपमा पालन गर्ने भएको छ। तकदाह टिस्टा भेल्ली समष्टि अन्तर्गत टिस्टा भेल्लीको सजनी डाँडास्थित देवी दुर्गा मन्दिर परिसरमा एउटा कार्यक्रमबीच गोर्खा जातिको उन्मुक्ति चाडैं होस् भनि माटो र भूमिको पुजा गरिने गोरामुमो सूत्रले जनाएको छ। गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटी अध्यक्ष एमजी सुब्बाको नेतृत्वमा गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष सुरज कटुवाल, सचिव सञ्जय खवास, केन्द्रीय समिति कार्यालय सचिव अमर तामाङले उक्त टिस्टा भेल्ली सजनी डाँडाको परिभ्रमण गरे। यसपछि जनजागरण दिवस कार्यक्रमलाई सफल बनाउन तिनीहरूले तकदाह टिस्टाभेल्ली समष्टिका पार्टी अध्यक्ष सुदेश राई लगायत समष्टि प्रतिनिधिहरू क्रमैले दिलकुमार सुब्बा, सीके लोप्चन, लिलावती परियार, निर्मल थापा, प्रेम लोप्चन, श्रीमति इन्द्रवती राई, श्रीमति छाया सुब्बा लगायत पार्टीका अन्य कार्यकर्ताहरूसित बैठक गरे।


उक्त बैठकमा यस वर्ष गोर्खाल्याण्ड जनजागरण दिवसको धेरै महत्व रहेको र अब जाति र माटोको उन्मुक्ति चाँडैं होस् भनि माटो अनि भुमिको पुजा गरिने साथै उक्त कार्यक्रममा गोरामुमो अध्यक्ष मन घिसिङ प्रमुख अतिथिका रुपमा रहेर पुजा-अर्चना गरिने भएको बताइको छ। यसको साथै विधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बाको पनि उपस्थिति रहने एमजी सुब्बाले जानकारी दिएका छन्। यसैक्रममा समष्टि अध्यक्ष सुदेश राईले गोर्खाल्याण्ड जनजागरण दिवस कार्यक्रममा माटो अनि भूमि पुजाको निम्ति सबैले आफ्नो उपस्थिति दिएर कार्यक्रमलाई सफल बनाइदिने अपिल गरेका छन्। स्मरण रहोस, विगत 22 सेप्टेम्बर 1985 सालमा गोरामुमो-का संस्थापक अध्यक्ष सुवास घिसिङले यस पवित्र स्थल सजनी डाँडामा विभिन्न ठाउँको सात धार्मिक स्थलको माटो ल्याएर बौद्ध धर्मगुरू अनि हिन्दु धर्मका पण्डितहरूले विधिवत पुजा-पाठ गरेपछि यहीबाट नै गोर्खाल्याण्ड राज्यको मागबारे मानिसहरूलाई जागरूक गर्ने अभियान थालेका थिए। यसैले यहाँ प्रत्येक वर्ष 22 सेप्टेम्बरको दिन गोरामुमोले यहाँ गोर्खा जनजागरण दिवसको रूपमा पालन गर्दै आइरहेको छ। हाल उक्त पवित्र ठाउँमा नै दुर्गा देवीको मन्दिर पनि निर्माण गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *