गोरामुमो-ले 6 दिसम्बरमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकमा साङ्गठनिक सभा गर्ने

दार्जिलिङ : गोरामुमो-ले आगामी 6 दिसम्बरमा दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्चमा साङ्गठनिक सभाको आयोजना गर्ने भएको छ। गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएका छन्। आगामी 6 दिसम्बरको दिन छैटौँ अनुसूची सम्झौता दिवस रहेकोले गर्दा गोरामुमो-ले उक्त दिनलाई शुभ मुहूर्त मानेकोले गर्दा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा त्यस दिन दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक ब्राञ्चमा साङ्गठनिक सभाको आयोजना गरेर विभिन्न राजनैतिक विषयमा, दिल्लीसँगको राजनैतिक गतिविधि माथि चर्चा-परिचर्चा, पञ्चायत चुनाउ लगायत अध्यक्ष मन घिसिङको दोस्रो साङ्गठनिक भ्रमणलाई लिएर चर्चा परिचर्चा गरिने भुपेन गुरुङले विज्ञप्ति मार्फत् जानकारी दिएका छन्। खरसाङमा गोर्खा जनपुस्तकालय, दार्जिलिङमा गोर्खा दुख निवारक सम्मेलन भवन, कालेबुङमा टाउन हल कालेबुङ बजार अनि मिरिकमा व्यवसायी भवनमा सभाको आयोजना गरिने भएको छ। यसैले उक्त दिन अत्यन्तै महत्वपूर्ण दिन भएकोले गर्दा सम्पूर्ण गोरामुमो-का नेतृत्ववर्ग, कार्यकर्ताहरू अनिवार्य रूपमा उपस्थित भइदिने भुपेन गुरुङले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *