गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिकको 35औँ वार्षिक सम्मेलन सम्पन्न

मिरिक: गोर्खा भूतपूर्व सैनिक संगठन मिरिक अञ्चलको 35औँ वार्षिक सम्मेलन आज सङ्गठनका अध्यक्ष अवकाशप्राप्त कप्तान मिलन सुब्बाको अध्यक्षतामा निजी भवनमा भव्य रूपमा पालन गरियो। अवकाशप्राप्त हवलदार प्रदीप गुरूङद्वारा सञ्चालनमा गरेको वार्षिक सम्मेलनको आरम्भमा अवकाशप्राप्त सुवेदार रवीन पाख्रिनको परेडको साथमा अध्यक्ष मिलन सुब्बाले सङ्गठनको झण्डा उत्तोलन गरे। यस अवसरमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाउने पूर्व सेना प्रमुख सीडीएस विपेन रावत लगायत अन्य दिवाङ्गतहरूको स्मृतिमा दुई मिनटको मौन धारण गरियो। कार्यक्रममा सङ्गठनका उपाध्यक्ष उमेश खडकाले स्वागत भाषण प्रस्तुत गरे भने संगठनको नयाँ सदस्य ग्रहण गर्नेहरूलाई स्वागत जनाँउदै खदा लगाइ दिएर सम्मान जनाइयो। यसको साथै  सेना मेडल प्रापकहरू सचित थापा, विधान थापा, सुमत राईलाई पनि सम्मान जनाइयो। उक्त सम्मेलनमा सङ्गठनका मूल सचिव हवलदार प्रदीप गुरूङले सचिवको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सङ्गठनले सदस्यहरूको हितमा गरिरहेको कार्यहरूबारे विस्तृत जानकारी गराउनको साथै भावी योजनाहरूबारे पनि अवगत गराए।


यसैगरी, सम्मेलनमा सङ्गठनका अध्यक्ष अवकाशप्राप्त कप्तान मिलन सुब्बाले सबैलाई 35औँ वार्षिक सम्मेलनको शुभकामना दिँदै सङ्गठनले हालसम्म गरेका विविध कार्यहरूबारे जानकारी गराए। तिनले गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलमा 351 जना सदस्यहरू रहेको जानकारी गराउँदै हालसम्म सदस्य ग्रहण नगरेका भूतपूर्व सैनिकहरूलाई पनि सदस्यता ग्रहण गर्ने अनुरोध गर्दै सबैलाई आपसी एकता र तालमेल कायम राखेर कार्य गर्ने अनुरोध गरे। यस अवसरमा राज्य सैनिक बोर्ड कलकत्ताका कर्णल पीपी वारिक, जिल्ला सैनिक बोर्डका सचिव कप्तान आर जसवाल, गोर्खा भूतपूर्व सैनिक सङ्गठन मिरिक अञ्चलका मुख्य संयोजक अवकाशप्राप्त अनेरी कप्तान पाण्डु तामाङ, सल्लाहकारहरू आरके राई, शिशिर राई, एसबी सुब्बा, प्रेम लामा आदि पनि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *