गोर्खा जनपुस्तकालय खरसाङको टोलीद्वारा कालेबुङ भ्रमण

खरसाङ : भारतीय गोर्खाहरूको पुरानो सामाजिक र साहित्यिक संस्था गोर्खा जन पुस्तकालय खरसाङको 9 सदस्य टोलीले विभिन्न विषय लिएर कालेबुङको भ्रमण गरेका छन्। पुस्ताकालयका पूर्व सभापति एवं सालिग निर्माण समितिका अध्यक्ष तिलक शर्माको अगुवाईमा नौजना सदस्यहरूले कालेबुङको नेपाली साहित्य अध्ययन समितिसित सौहार्दपूर्ण भेटघाट कार्यक्रम गरेको छ। अध्ययन समितिको भाइचन्द्र प्रधान स्मृति प्रेक्षागृहमा सम्पन्न उक्त भेटघाट कार्यक्रमको अध्यक्षता समितिको अध्यक्ष ज्ञान सुतारले गरेका थिए भने सञ्चालन मूल सचिव बलभद्र शर्माले गरेका थिए। कार्यक्रमको शुरुमा कालेबुङको नेपाली साहित्य अध्ययन समितिको तर्फबाट गोर्खा जनपुस्तकालय खरसाङको प्रतिनिधिहरूलाई स्वागत जनाइयो भने गोर्खा जनपुस्तकालयको पक्षबाट पनि समितिको सम्पूर्ण प्रतिनिधिहरू र उपस्थित स्रष्टाहरूलाई खदार्पणसहित स्वागत गरियो।


कार्यक्रमको शुरुमा गोर्खा जनपुस्तकालयको पूर्व सभापति एंव सालिग निर्माण समितिको अध्यक्ष तिलक शर्माले आफ्नो सम्बोधनमा खरसाङबाट कालेबुङ आउनुको उद्देश्य बताउँदै सदैव मिलेर कार्य गर्नु पर्ने र यस्तो भेटभाट गर्नु जरुरी रहेको बताए। तिनले खरसाङमा शिवकुमार राईको जन्म शतवार्षिकी समारोहमा कालेबुङ अध्ययन समितिले गरेकोमा पनि आभार प्रकट गरे। शर्माले खरसाङमा अब पाद्री गंगाप्रसाद प्रधान र डा. पारसमणि प्रधानको सालिग निर्माण गर्नलाई शिलान्यास गरिसकेको र सालिग निर्माण गरिने पनि बताएका छन्। उनले दुवैको जीवनीको लागि भिडियो चित्र निर्माणको लागि जीटीएले सहयोग गर्नुपर्ने पनि बताएका छन्। कार्यक्रमलाई गोर्खा जनपुस्तकालयको सचिल विनोद रसाईली, सभापति पूर्ण गुरुङ निरूपम र कालेबुङ अध्ययन समितिको पक्षबाट सभापति ज्ञान सुतारले पनि सम्बोधन गरे। सभामा गोर्खा जनपुस्तकालयको पक्षबाट चन्द्र शर्माद्वारा सम्पादित शिवकुमार राई जन्म शत वार्षिकीको पुस्तक नि:शुल्क वितरण गरियो। यस सौहार्दपूर्ण भेटघाट कार्यक्रममा गोर्खा जनपुस्तकालय खरसाङको पक्षबाट सभापति पूर्ण गुरुङ निरूपम, उप सभापति प्रकाश प्रधान, सचिव विनोद रसाईली, पूर्व सभापति तिलक शर्मा र रबीनकुमार प्रधान, कार्यकारी सदस्यहरू सन्तोषराज छेत्री, अरुण लामा, शरण शर्मा, हनोक थापा उपस्थित थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *